Logo

खेलकुद

कराँते खेलाडी एरिका गुरुङलाई अमेरिकामा सम्मान



काठमाडौं । नेपालकी कराँते खेलाडी एरिका गुरुङ अमेरिकामा नगदसहित सम्मानित भएकी छिन् । १९औं एसियाली खेलकुदमा रजत पदक विजेता गुरुङ युएसए च्याम्पियनसिपमा सहभागी हुन अमेरिका पुगेका बेला ७ हजार ११ अमेरिकी डलर (९ लाख बढी नेपाली रुपैयाँ)सहित सम्मानित भएकी हुन् ।

११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब यूएसएको आयोजनामा नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

सुदूरपश्चिम समाजले ५५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्युयोर्कले १९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट रकम संकलन गरेर एरिकालाई सम्मान गरिएको ११ औं सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए ।

लामाको सभापतित्वमा भएको कार्यक्रममा १३औं एसियाडका कास्य पदक विजेता सम्बर बहादुर गोलेले एरिकालाई सम्मान गरेका थिए ।

सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका आठौ र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औं सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन् । विप्लवलाल श्रेष्ठले पनि युएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लवलालको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए ।

एरिका हालै भएको यूएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक र सोही तौल समूहको सिनियरमा रजत पदक जित्न सफल भएकी थिइन् ।

एरिकाले चीनमा भएको १९औँ एसियाडमा ऐरीकाले रजत पदक जितेकी थिइन् । एसियाडमा रजत पदक जित्ने पहिलो नेपाली कराँते खेलाडी हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ३ : २७ बजे