Logo

निर्वाचन विशेष

अन्तिम मतदाता नामावली प्रकाशित : इलाम र बझाङमा मतदाता थपिए



काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगको चैत २२ गतेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको हो ।

सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पछिल्लो निर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ४६७ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ११० मतदाता रहेका थिए ।

उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ४२२ जना मतदाता थप भई १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन्।

स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८१–०१–१४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८८ लाख ८६ हजार २२६, पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ गरी कूल १ करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ।

यस विवरणअनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता ३ लाख ६२ हजार ९७३, पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता ३ लाख ५३० र पुरुष मतदाता ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन्।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १ : २८ बजे