Logo

Breaking News 1

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, उम्मेदवार चयनलगायतका विषयमा छलफल हुने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आजकाे बैठकमा उपनिर्वाचनका लागि उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएकाे हाे । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका थिए ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

आउँदो बैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचनको मिति तय भएपनि कांग्रेसले आफ्नो उम्मेदवार चयन गर्न सकेको छैन् । अन्य प्रतिस्पर्धी दलहरुले उम्मेदवार टुङ्ग्याएर चुनावी अभियानमा जुटेपनि कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन् ।

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यस्तै, गत असार २५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि बझाङ १ को प्रदेश सभा सदस्य पद रिक्त भएको हो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : २७ बजे