Logo

मुख्य समाचार

कांग्रेसका पदाधिकारीहरुको भूमिका प्रभावकारी भएन : नेता महर



काठमाडौं । मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको धारणा छ ।

सोमबार काठमाडौंको नयाँ बानेश्वरमा शिक्षक संघसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर अहिलेको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए ।

’सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने पार्टीले त्यसको भारी बोक्न सक्दैन । मुलुक संवेदनशील अवस्थामा छ । यस्तो अवस्थामा मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ । र, त्यही धारणालाई बोकेर हामी जनतामाझ जानुपर्छ,’ उनले भने ।

वर्तमान सरकारले सुशासनको दाबी गरिरहेको भए पनि भनाइ र व्यवहार ठ्याक्क विपरीत रहेको महरको आरोप छ । ’सरकारले सुशासनको कुरा गरिरहेको भए पनि त्यो व्यवहारमा देखिँदैन । सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएर देशका प्रधानमन्त्री नै उनको बचाउमा उभिनु भएको छ। त्यो मुलुकका लागि लज्जाको विषय हो,’ महरले भने ।

सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरको दाबी छ ।

त्यस्तै उनले पार्टी पदाधिकारीका नाममा आजसम्म उहाँहरूको भूमिका र गतिविधि खासै प्रभावकारी नदेखिएको उनको भनाइ छ । ’उहाँहरू पार्टी र सदनमा पनि खरो रूपमा प्रस्तुत हुन नसक्दा आसातित उपलब्धि भएको छैन । पार्टीका गतिविधिहरूलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गर्ने भूमिका देखाउनु भएको छैन,’ महरले भने।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : ५५ बजे