Logo

समाचार

ख्रिष्टियन धर्मका अनुयायीहरुलाई तत्काल रिहा नगरे आन्दोलन


३० फाल्गुन २०८०, बुधबार  

69
Shares

काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले धर्म प्रचारको झूटो आरोपमा गिरफ्तार गरिएका ख्रिष्टियन धर्मका अनुयायीहरुलाई सरकारले तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संविधान विपरित धार्मिक द्वन्द्ध निम्त्याउने सरकारी रवैया मान्य नभएको समेत जनाएको हो ।

मंगलबार बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ५ स्थित रामवन गाउँमा सुतिरहेको अवस्थामा धर्म प्रचारको आरोपमा ६ जना अष्ट्रेलियन र चारजना नेपालीलाई प्रहरी प्रशासनले गिरफ्तार गरेकोप्रति महासंघले गम्भीर ध्यानकर्षण भएको बताएको छ । प्रशासनले गरेको गलत रवैयाको कारण देशको बदनाम हुने र धार्मिक सद्भाव खल्बलिनेमा चिन्ता व्यक्त गरेको छ ।

महासंघका कार्यबाहक अध्यक्ष उद्धवप्रसाद चिमोरियाले नेपालको संविधान २०७२ ले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको र सबै धर्महरुलाई समान अधिकारको प्रत्याभूति गरेपनि त्यसको बर्खिलापमा प्रशासन जानु दुःखत भएको भन्दै चिन्ता व्यक्त गरे ।

चिमोरियाले महासंघ लामो समयदेखि अनिणर्यको बन्दी भएको र त्यसको मुख्य दोषी पूर्वअध्यक्ष सिबी गहतराज नै भएको आरोप लगए । आफूहरु बहुमत सदस्यहरुसहितको निणर्य अनुसार अधिवेशनमा जानका लागि सिडियो कार्यालयमा अनुमतिको लागि पत्र पेश गरे पनि गहतराजले नै भाडिरहेको आरोप लगाए ।

महासंघ सह-अध्यक्ष तुलसी प्रसाद श्रेष्ठले पूर्व-अध्यक्ष सिबी गहतराजले महासंघको नीति र विधी विपरित गएर कमिटी विस्तारका नाममा समुदायलाई भ्रम फैलाई रहेकोप्रति रोष व्यक्त गरे ।

महासचिव ज्ञानेन्द्रराज सापकोटाले धर्म निरपेक्ष राष्ट्रमा संविधानको उल्लङघन गरी आफ्नो समुदायका व्यक्तिहरुलाई गिरफ्तार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सापकोटाले अल्पसंख्यक धार्मिक समुदायमाथि शक्तिको दूरुपयोग गरी ख्रिष्टियनहरुलाई धर्म प्रचारको झूटो आरोपमा धार्मिक सहिष्णुतामाथि खलल पुर्याएको आरोप लगाउँदै गिरफ्तार भएकाहरुलाई तत्काल रिहा नगरे कडा आन्दोलनको चेतावनी दिए ।

उपमहासचिव उपेश नौवागले महासंघलाई निकाश दिन पूर्वअध्यक्ष गहतराजले भ्रमको खेती गरिहेको आरोप लगाए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ४ : ३२ बजे