Logo

खेलकुद

राष्ट्रिय टी–२० क्रिकेटः गण्डकी–पुलिस, आर्मी–मधेश प्रदेश भिड्दै


२७ फाल्गुन २०८०, आइतबार  

92
Shares

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज दुईवटा खेलहरु हुँदैछन् ।

आजको पहिलो खेल गण्डकी र नेपाल पुलिस क्लबको टिमबीच हुँदैछ ।

यसैगरी, आजै हुने दोस्रो खेल आर्मी र मधेश प्रदेशबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

खेलहरु विराटनगरको बैजनाथपुरस्थित क्रिकेट रंगशालामा दिउँसो हुनेछन् ।

यसअघि प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा कर्णाली र लुम्बिनी  विजयी भएका थिए ।

कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको थियो । जितसँगै कर्णाली समूह ‘ए’ मा ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकको साथ शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै, दोस्रो खेलमा लुम्बिनी प्रदेशले वागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । लुम्बिनीले लगातार ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा यथावत् छ ।

प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : २३ बजे