Logo

खेलकुद

झापा गोल्डकपः ‘हामी फुटबल हव बनाउने लक्ष्यमा छौं’ अध्यक्ष बिनोद बस्नेत


१७ फाल्गुन २०८०, बिहिबार  

138
Shares

बिर्तामोड, झापा । पर्सि १९ फागुनदेखि सञ्चालन हुन गइरहेको छैटौं संस्करणको झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । देशमै सर्वाधिक दर्शकको उपस्थितिमा सञ्चालन हुने घरेलु प्रतियोगितामा १० हजार क्षमताको अस्थायी प्यारापिट निर्माण भइसकेको छ ।

देशकै उत्कृष्ट खेल मैदानको रुपमा परिचित डोमालाल राजबंशी रंगशालामा हुने प्रतियोगितामा कोशी प्रदेश र छिमेकी भारतबाट समेत दर्शक आउने गरेका छन् । यसअघिका ५ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको गोल्डकपमा यस पटक अझ बढी व्यवस्थित गर्ने प्रयास गरिएको छ । गोल्डकपको तयारी, सधैं चन्दा उठाएर गोल्ड कप सञ्चालन गर्नु कतिको सान्दर्भिक हुन्छ ? आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंश :

यही शनिबारदेखि छैटौं झापा गोल्ड कप सुरु हुँदैछ । कस्तो तयारी गरिरहनु भएको छ ?

झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १९ गते उद्घाटन गर्ने तयारी गरेका छौं ।

यस पटक गोल्डकपमा कुन-कुन टिमको सहभागिता रहने छ ?

झापा गोल्ड कपमा ए डिभिजन क्लवसहित १० वटा उत्कृष्ट टिमको सहभागिता हुनेछ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लवसहित बागमती युवा क्लव, संकटा फुटबल क्लव, मच्छिन्द्र फुटबल क्लव, एनआरटी फुटबल क्लव, चर्च वोइज युनाइटेड, एन्फा मकवानपुर तथा विभागीय टिमहरु एपिएफ, त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवको सहभागिता रहनेछ ।

यस संस्करणमा पुरस्कारको राशी बढेको हो ?

झापा गोल्ड कपमा यस पटक पुरस्कारको राशी वृद्धि गरेका छौं । विजेता टोलीलाई १३ लाख रुपैयाँ नगदसहित आकर्षक ट्रफी प्रदान गर्नेछौं भने उपविजेता टिमलाई सात लाख र ट्रफी प्रदान गर्नेछौं ।

गोल्ड कप सम्पन्न गर्न कति खर्च लाग्ला ?

हामीले खर्चलाई अघिकतम घटाएर गोल्डकप सम्पन्न गर्ने तयारी गरेका छौं । यस पटक एक करोड ४० लाख रुपैयाँमा गोल्ड कप सम्पन्न गर्ने लक्ष्य लिएका छौं । सोही अनुसार गोल्ड कपको तयारी भइरहेको छ ।

गोल्डकपबाट कति आम्दानी गर्ने लक्ष्य लिइएको छ ?

यस पटक आर्थिक मन्दीका कारण आम्दानी घटेको छ । लागत खर्च उठाउँछौं नै । तर, विगत वर्ष झैं यति नै बचत हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ । हाम्रो मुख्य लक्ष्य भनेको गोल्ड कप सम्पन्न गर्नु र बचत रकमलाई नघटाउनु नै रहेको छ । आम्दानी गर्न नसकिए पनि बचत भएको रकम खर्च हुनबाट जोगाउन सकिएमा आगामी बर्ष हामीलाई काम गर्न सहज हुन्छ भन्ने मेरो अपेक्षा छ । हामीले यस पटक गोल्डकप गराउँदै गर्दा एक करोड रुपैयाँको अक्षय कोष खडा गर्न सकेको खण्डमा आगामी दिनमा पनि सहज हुने अपेक्षा गरेका छौं ।

कति दर्शक आउने अपेक्षा छ ?

यो पटक झापा गोल्ड कप हेर्न प्रतियोगिता भरीमा ३० हजार दर्शक आउने हामीले अपेक्षा गरेका छौं । टिकट बिक्रीबाट ५० लाख रुपैयाँ संकलन हुने अनुमान छ । यस पटक टिकट केही महँगो भए पनि झापा गोल्ड कप आफ्नै कार्यक्रम सम्झिएर टिकट खरिद गर्न सबैमा आग्रह गरेका छौं । टिकट काउन्टरलाई व्यवस्थित गर्ने तयारी समेत गरेकाले झन्झटरहित गोल्ड कप हेर्न पाइने अधिकतम प्रयासमा हामी जुटेका छौं ।

सधैं चन्दा उठाएर गोल्ड कप गर्नु कतिको सान्दर्भिक हुन्छ ? यसको संस्थागत बिकासका लागि के सोच्नु भएको छ ?

एकदमै सान्दर्भिक प्रश्न उठाउनुभयो । सधैँ चन्दाले गोल्ड कप सञ्चालन गर्छु भन्नु उचित हुँदैन । हामीले यसको संस्थागत विकास र दिगोपनको बारेमा सोच्नै पर्छ । झापा गोल्ड कपलाई व्यवस्थित गर्दै यसको दिगोपनाका लागि हामीले अक्षयकोष बनाएर अगाडि बढ्ने तयारी गरेका छौं । दाताहरुको सहयोगका कारण छैटौं गोल्ड कप गर्न सफल भएका छौं । यसमा सम्पूणर् झापालीहरुको साथ र सहयोग रहेको छ ।

उद्घाटनलाई आकर्षक बनाउने तयारी कस्तो छ ?

उद्घाटनका दिन स्थानीय विभिन्न जातजातिका झाँकी सहित खेलकुद क्षेत्रका अगुवाहरुलाई सम्मान गर्ने कार्यक्रम छ । उद्घाटनका दिन झापा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथिका रुपमा उपस्थित गराउने छौं । उद्घाटनको दिन कलाकार हेमन्त शर्मा र अस्मिता अधिकारीको सांगीतिक प्रस्तुती रहने छ ।

अघिल्लो संस्करण भन्दा यस पटक दर्शकले के फरक पाउँछन् ?

अघिल्लो वर्षभन्दा यस पटक झापा गोल्डकपलाई केही नयाँपन दिने प्रयत्न गरेका छौं । विगतका वर्षहरुमा भएका कमजोरी तथा सुझावलाई आत्मसाथ गर्दै त्यसलाई सुधार गरेर व्यवस्थित रुपमा गोल्ड कप सम्पन्न गर्ने तयारी गरेका छौं । यस पटक शौचालय, पार्किङ, टिकट काउण्टर लगायतलाई व्यवस्थित गरेका छौं भने प्याराफिटलाई पनि बलियो बनाएका छौं ।

झापा गोल्ड कप झापालीको मात्र नभई समग्र पूर्व कै सान भएकाले यसप्रति सबैको सहभागिता बढ्दै गएको छ । झापा गोल्ड कप मार्फत नै झापालाई फुटबल हबको रुपमा बिकास गर्ने तयारीका साथ काम भइरहेको छ । सबैले झापा गोल्ड कपप्रति अपनत्व ग्रहण गरेका र माया गरेका कारण झापा गोल्ड कप प्रति क्रेज बढ्दै गएको छ । यसलाई सबैतिर विस्तार गर्न र व्यवस्थित गर्न हामी लागेका छौं ।

यस पटक आयोजक झापाको टिम कस्तो बनेको छ ?

आयोजक झापा ११ लाई व्यवस्थित गर्ने काम झापा ११ का अध्यक्ष जलकुमार गुरुङले गर्नुभएको छ । आयोजकका नाताले हामीले ‘होम ग्राउण्ड’ मा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौं । यसपटक हाम्रो लक्ष्य भनेको उपाधि चुम्नु हो ।

खेल मार्फत सामाजिक बिकास सम्भव छ ?

हामी सामाजिक प्राणी भएका कारण समाजप्रति जवाफदेही र उत्तरदायी हुनु पर्दछ । म सानै उमेरमा हजुरबुवाबाट पे्ररित भएर सामाजिक सेवाका काममा अग्रसर हुने मौका पाएँ । हजुरबुवाको प्रेरणाका कारण सामाजिक सेवाका क्षेत्रमा अग्रसर भएको हुँ । परिवारको साथ र सहयोगका कारण हरेक सामाजिक क्षेत्रमा मैले सहभागिता जनाउने मौका पाएँ । यो सँगै झापा गोल्ड कपको नेतृत्व गर्ने अवसर प्राप्त भयो । फुटबलको माध्यमबाट समाजलाई जोड्दै अगाडि बढिरेको छु । खेलकै माध्यमबाट पनि बिर्तामोडको बिकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ झापा गोल्ड कपलाई केन्द्र विन्दुमा राखेर काम गरिरहेका छौं । बिर्तामोडको मुक्तिचोकलाई थप आकर्षक र उज्यालो बनाउनेदेखि रंगशालासम्मको मार्गमा विशेष सरसफाईसहित उज्यालो बनाउने प्रयत्नमा हामी छौं । गोल्ड कप भनेको फुटबल प्रतियोगिता मात्र होइन यसको माध्यमबाट हामीले हाम्रो ठाउँको पहिचान, त्यहाँको अनुशासन, कला-संस्कृति र संस्कार अनि बिकासलाई जोड्न सकिन्छ । यस कार्यका निमित्त हामी खटिइरहेका छौं ।

प्रतियाेगितामा आर्थिक व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

पक्कै पनि आर्थिक मन्दीका कारण हामीले झापा गोल्ड कप सम्पन्न गर्न सबैभन्दा पहिला सदस्यको मन जितेका छौं । झापाली दर्शकको हामीलाई भरपुर साथ छ । अहिले पनि सदस्य बन्ने क्रम जारी छ । विभिन्न ठाउँमा हुने गोल्ड कपभन्दा झापा गोल्ड कपलाई उत्कृष्टता प्रदान गर्न हामी सफल छौं । खेत जस्तो ठाउँलाई पनि मैदान बनाएर हामी खेल खेलाइरहेका छौं । खेलाडीहरुलाई सुविधा दिएका छौं ।

तपाईंलाई यसअघि बिनोद बस्नेतले झापा गोल्ड कप भद्रपुरलाई बुझायो भन्ने आरोप पनि धेरैतिरबाट लाग्यो । यस विषयमा के भन्नुहुन्छ ?

झापा गोल्ड कप बिर्तामोडको मात्रै हो भनेर नबुझौं । झापा गोल्ड कप भनेको आम झापालीलाई समेटेर गरिँदै आयोजना आएको छ । भद्रपुर, मेचीनगर, दमक लगायतका ठाउँमा पनि यस किसिमका खेलकुदका प्रतियोगिता आयोजना गर्दै ती ठाउँहरु पनि चिनिनुपर्छ । जीर्ण अवस्थामा रहेका खेल मैदानको बिकास गरिनुपर्छ । झापा गोल्ड कपले एक पटकका लागि भद्रपुरमा गोल्ड कप गर्न दिँदा त्यहाँको खेल मैदानसँगै त्यस ठाउँको समेत महत्व बढ्ने भएकाले हामीले सल्लाह गरेर नै यसअघिको गोल्ड कपलाई भद्रपुर गोल्ड कप गराएका हौं । त्यसमा हाम्रो कुनै स्वार्थ छैन । भद्रपुरको पनि बिकास हुनुपर्छ । भद्रपुरमा आयोजना गरिने गोल्ड कप पनि झापा गोल्ड कप सरह नै हो । मलाई भद्रपुरमा गोल्ड कप गराउँदा कार्यसमितिका केही साथीहरुले आरोप लगाए पनि स्वार्थविहीन गरिएको काममा त्यस्ता आरोपले केही फरक पार्दैन । झापा जिल्लालाई फुटबलको हब बनाउन हामी लागिपरेका छौं । वल्र्ड कप पनि चार वर्षमा हुन्छ । तर, हामी हरेक वर्ष झापाको फुटबलको बिकासका लागि झापा गोल्ड कप आयोजना गर्दै आएका छौं । हामी सबै झापाली एउटै मालामा गासिएर फुटबलको विकासका लागि जुट्नुपर्ने बेलामा कहिले सुरुङ्गामा त कहिले भद्रपुरमा कहिले दमकमा बन्दै गरेको रंगशालामा त कहिले काँकरभिट्टामा गोल्ड कप गराउँदा केही फरक पर्दैन । खेलका माध्यमले त्यस क्षेत्रको बिकास हुन्छ भने हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न सक्नुपर्छ जस्तै मलाई लाग्छ ।

झापा गोल्ड कप विश्वभरका नेपालीमाझ लोकप्रिय हुँदै गएको छ । विश्वभरका खेलप्रेमी नेपाली दर्शकलाई कसरी जोड्नुहुन्छ ?

पछिल्लो समय खेलप्रति मानिसको लगाव बढ्दै गएको छ । हामीले झापा गोल्ड कपलाई बृहत बनाएर लैजाने काम गरिरहेका छौं । बिर्तामोडमा मात्र सीमित गरेको भए यो बिर्तामोड गोल्डकप हुन्थ्यो, तर समग्र झापाले अपनत्व गर्ने हिसाबले यसलाई झापा गोल्ड कपका रुपमा अगाडि बढाएका छौं । यसमा समग्र झापाली दाजुभाइ तथा दिदीबहिनी सम्पूणर् राजनीतिक दल, झापामा रहेका समग्र संघ-संस्था, उद्योगी, व्यवसायी, सुरक्षा निकाय, प्रशासन, पत्रकार लगायत सबैको साथ र सहयोगका कारण नै काठमाडौंमा हुने ए डिभिजन लिगपछि सर्वाधिक चर्चाको रुपमा झापा गोल्ड कपलाई स्थापित गर्न सफल भएका छौं । यसमा अन्तर्राष्ट्रिय झापाली समाजको पनि महत्वपूणर् योगदान रहेको छ । झापामा जन्मिएर विश्वका विभिन्न स्थानमा रहनुभएका झापालीको सहयोगका कारण हामीले यसलाई विश्वभर चिनाउन सफल भएका छौं ।

झापा गोल्डकप जहाँ हुँदैछ, त्यो स्थान बिवादित छ । त्यो रंगशालाको जमिन बिवाद अन्त्य गरेर स्थाई प्यारापिट निर्माण गर्न सामाजिक अगुवा भएको नाताले तपाईंको भूमिका के हुन्छ ?
जमिन बिवादित छ । केही मान्छेले कृत्रिम मोही खडा गरेर त्यहाँको केही जमिन आफ्नो नाममा दर्ता गर्ने काम गरेका छन् अरे भन्ने सुनेको छु । उनीहरुले यहाँ आएर भोगचलन गर्ने अवस्था छैन । त्यसलाई नीति निर्माण तहबाटै एक्सन लिएर फिर्ता ल्याउन जरुरी छ । त्यसपछि सरकार र स्थानीय समाज मिलेर भौतिक संरचना निर्माण गर्न सकिन्छ ।
हामीले जग्गादाताको परिवारलाई भने संरक्षण गर्नुपर्छ । उनीहरुलाई पैसा दिएर हुँदैन । बसोबास र जीविकोपार्जको ग्यारेन्टी हामीले गर्नुपर्छ ।

प्रत्येक वर्षको गोल्डकप सुरु हुँदा झापामा फुटबल एकेडेमी स्थापना गर्ने चर्चा हुन्छ । गोल्डकपको फाइनल समापनसँगै त्यो चर्चा त्यतिकै सेलाउँछ । एकेडेमी स्थापनालाई मूर्तरुप दिन सुरु गर्ने बेला भएन ?
एकेडेमी निर्माण गर्नका लागि भौतिक संरचना सबभन्दा पहिला जरुरी हुन्छ । एकेडेमीमा बसेर प्रशिक्षण लिने खेलाडिको शिक्षा र स्वास्थ्यको जिम्मा लिन सकिन्छ । तर, सिक्नका लागि मैदान स्थान, बस्नका लागि छात्राबास लगायतको व्यवस्थापन नगरी एकेडेमी सञ्चालन गर्न नसकिने रहेछ । त्यो चर्चाका लागि चर्चा मात्र रहेछ भन्ने बुझ्दै छु । आगामी दिनमा भौतिक संरचना निर्माण गरेर एकेडेमी स्थापना गर्ने योजनामा अघि बढ्नु जरुरी छ ।


विगत बर्षहरुमा दर्शकको अत्यधिक चापका कारण फाइनलका दिन प्रतियोगिता हेर्न बञ्चित हुनुपरेको थियो । यो पटक त्यसको समाधान हुन्छ ?
यो पटक त्यो समस्या नआउने कुरामा हामी ढुक्क छौं । हामीले ६ हजार क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माण गरेका छौं । सुरुका प्रतियोगिता हेर्न आउने दर्शकको सुविधाका लागि त्यो पर्याप्त हुन्छ भन्ने लागेको छ । धेरै भिड फाइनलका दिन हुने हो । त्यो दिन प्यारापिटको अगाडि कार्पेट बिछ्याएर थप दर्शक बस्न मिल्ने स्थान बनाइन्छ । बाहिर एलइडी डिस्प्ले राखेर भित्र नअटेका दर्शकलाई प्रतियोगिता हेर्ने सुविधाको व्यवस्था मिलाईने छ ।
गोल्डकप सफल बनाउन सरोकारवालाहरुबाट के अपेक्षा गर्नु भएको छ ?

झापा गोल्ड कप सफल बनाउन सम्पूर्ण सरोकारवाला निकायहरुसँग सहयोगको अपेक्षा गरेका छौं । यो गोल्ड कपप्रति सबैले अपनत्व ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु । निरन्तरको लगनशिलता, दृढसंकल्प र सबैको साथका कारण हामी झापा गोल्ड कपको संघारमा आइपुगेका छौं । यसलाई सफल बनाउने दायित्व हामी सबैको हो । त्यसैले म स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूणर् खेल प्रेमीहरुलाई आग्रह गर्दछु कि यो गोल्ड कप मेरो पनि हो भनेर साथ, सहयोग गरिदिनुहोस् ।

यसपटक झापा गोल्ड कप सफल बनाउन बिर्तामोड नगरपालिकाले महत्वपूणर् सहयोग गरेको र खेल सम्पन्न भएपछि थप सहयोग गर्ने आश्वासन पाएको छु । अन्तर्राष्ट्रिय झापाली समाजले पनि महत्वपूणर् सहयोग प्रदान गरेको छ । झापा गोल्ड कप सफल बनाउन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, झापा गोल्ड कपमा पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी, जलकुमार गुरुङ, झापा गोल्ड कपमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, कार्यसमिति सदस्य, सल्लाहकार, सञ्चचारकर्मी लगाायत सबैको महत्वपूणर् भूमिका र साथ सहयोगका कारण गोल्ड कपको तयारी अन्तिम चरणमा पुर्‍याएका छौं । म सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई झापा गोल्ड कप हेरी दिनुहुन आग्रह गर्दछु ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ५ : ५४ बजे