Logo

मुख्य समाचार

बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार, अन्य चार सम्मानित


१५ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौं । दुर्गम क्षेत्र, दार्चुला अस्पतालमा कार्यरत अनमि बबिता विष्ट उत्कृष्ट स्वास्थ्यकर्मी घोषित भएकी छन् ।

मंगलबार स्वास्थ्य सेवा दिवस २०८० को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार २०८० उनलाई प्रदान गरिएको हो । उनलाई प्रदान गरिएको पुरस्कार राशी एक लाख रुपैयाँ रहेको छ ।

अनमि छैटौं तहमा २०७६ सालदेखि हाल दार्चुला अस्पतालमा कार्यरत विष्टले लामो समयसम्म महाकाली अञ्चल अस्पतालमा कार्य गरी स्वास्थ्य सेवा क्षेत्रमा योगदान गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै, स्वास्थ्य सेवा पुरस्कारबाट चार जनालाई सरकारले सम्मान गरेको छ ।   सम्मानित हुनेमा २०५४ सालदेखि कालिकोट जिल्ला अस्पतालमा कार्यरत दीर्घ बहादुर नेपाली, ‘सि’अनमि पाँचौं तहमा बारा जिल्लामा कार्यरत किरण कुमारी रहेकी छन् ।

यस्तै, कर्णलीको दुर्गम क्षेत्रका महिला र शिशूको स्वास्थ्य सेवामा विगत २४ वषर््ादेखि अनवरत सेवा गरिरहेका सुर्खेत अस्पतालमा कार्यरत एघाराँै तहका गाइनोक्लोजिस्ट डा.केशर बहादुर ढकाल र फार्मेसी क्षेत्रबाट फार्मेसी निरिक्षक शुष्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार २०८० बाट पुरस्कृत गरिएको छ ।

स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुने चारै जनालाई कदरपत्र सहित ५० हजार रुपैयाँको पुरस्कार राशीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिवलगायतले माला र खादा लगायर सम्मान गरे । 

सम्मानित हुने पाँचै जनालाई दुर्गम क्षेत्रमा काम गरेको अनुभव, स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याएको योगदान, कार्यसम्पादन मूल्यांकन तथा स्थानीय र प्रदेशबाट सिफारिस भई आएको नामको आधारमा स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरिएको हो । उनीहरुको नाम सिफारिस समितिको संयोजक मुख्य सचिव बैकुण्ठ अर्यालको टोलीले छनोट गरी मन्त्रिपरिषद्बाट पास गराइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : १४ बजे