Logo

बागमती प्रदेश

काठमाडौंका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन



काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ । महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो ।

परियोजना अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकाले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो ।

कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्यांकन समिति व्यवस्था गरिएको छ । यस बमोजिम समिति गठन भएर क्रियाशील छ ।

यो समितिमा प्रमुख प्रशासकीय अधिकृत, प्रमुखले तोकेको एक महिलासहित २ जना कार्यपालिका सदस्य, सार्वजनिक निर्माण विभागका प्रमुख र कानुन तथा मानव अधिकार विभागका प्रमुख सदस्य छन् । समितिको सदस्य सचिव योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख छन् ।

यो समितिसँगै विषयगत समितिले आफ्नो क्षेत्रभित्र भएका विषयमा अनुगमन गर्न सक्ने, विभाग, सचिवालय, आयोजना र एकाइले आफ्नो कार्य विवरणमा उल्लेख भएका कामको नियमित अनुगमन, सुपरीवेक्षण र मूल्यांकन गर्न सक्छन् ।

वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका योजनाहरूको कार्य सम्पादन स्तर, गुणस्तरीयता र प्रभावकारिता कायम गर्न प्रमुखले जुनसुकै समयमा अनुगमन तथा सुपरीवेक्षण गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ०९ बजे