Logo

राजनीति

महामन्त्रीको प्रतिवेदन संशोधन भएर आउँछ : मीन विश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकका लागि कांग्रेस नेताहरु गोदावरीमा भेला भएसँगै त्यहाँ चहलपहल सुरु भएको छ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासमिति बैठकमा पार्टीका विभिन्न तहका दुई हजारबढी प्रतिनिधि एवम नेता सहभागि भइरहेका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रश्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

त्यस्तै प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ ।

पछिल्लो समय पेचिलो बन्दै गएको पार्टी महामन्त्री गगनकुमार थापाको प्रतिवेदन शंसोधनको विषयमा समेत सहमति भएको पार्टीको संस्थापन पक्षका नेताहरुले दाबी गरेका छन् ।

सोमबार बिहान सभापति देउवा निवास बूढानिलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापाको प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे ।

महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट थिए । विशेषगरी गठबन्धन, राष्ट्रिय सभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १ : ४२ बजे