Logo

राजनीति

कांग्रेसको महासमिति बैठक : ६० जनाले बोल्न पाउने



काठमाडौं । कांग्रेसको महासमिति बैठकका सहभागी नेतामध्ये ६० जनाले बोल्न पाउने भएका छन् । सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने बैठकको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ ।

ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने ‘महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको छ । महासमितिमा सहभागी सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ ।’

बैठकका सबै गतिविधि जानकारी दिने उद्देश्यका साथ मिडिया सेन्टर स्थापना गरिएको उनले बताए । उनले भने,‘फागुन ७ देखि १० गतेसम्म गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक हुँदैछ । आजबाट मिडिया सेन्टर स्थापना गरिएको छ ।’

बैठकमा उपसभापति पूणर्बहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस जानकारी प्रमुख विश्वकर्माले दिए ।

यसपटकको महासमितिको बैठक विगतको भन्दा अलि फरक ढंगले गर्न लागेको उनले बताए । प्रस्तावहरूमाथि हिमाल, पहाड, तराई र मधेसको प्रतिनिधित्व हुने गरी चार वटा समूह बनाएर समूहगत रुपमा छलफल गरिने पनि उनले जानकारी दिए ।

बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १ सय ६५, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने छन् ।

बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : २४ बजे