Logo

राजनीति

नेकपा एमाले रोल्पाको दसौं जिल्ला अधिवेशन फागुन २९ र ३० मा



रोल्पा । नेकपा एमाले रोल्पाको दसौं जिल्ला अधिवेशन फागुन २९ र ३० मा हुने भएको छ । सदरमुकाम लिबाङमा अधिवेशन सम्पन्न गर्ने तयारी भएको एमालेले जनाएको हो ।

पार्टीका कार्यवाहक अध्यक्ष विजय घर्तीमगरको अध्यक्षमा हालै सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशन केन्द्र र लुम्बिनी प्रदेश कमिटीले तोकेकै मितिमा सम्पन्न गर्ने तयारी गरेको हो ।

त्यसका लागि जिल्लाका १० वटा तहमा रहेका पार्टीको कमिटीका सदस्यलाई तयारीका लागि जुट्न निर्देशनसमेत दिएको पार्टीका जिल्ला सचिव अमृत बुढाले बताए । एमालेले अघिल्लो अधिवेशन त्रिवेणी गाउँपालिकाको नुवागाउँमा सम्पन्न गरेको थियो ।

पार्टी गतिविधि र अधिवेशनको तयारीबारे बुझ्न लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल रोल्पामा आएका थिए । उनले जिल्ला अधिवेशन सम्पन्न गर्न र नयाँ राजनीतिक सन्दर्भमा सचेत हुन कार्यकर्तालाई निर्देशन दिए । एमालेका जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्य जीवन गौतमले माओवादीको प्रभाव रहेको रोल्पामा एमाले बलियो बन्दै गएको दाबी गरे । लामो समय माओवादी केन्द्रमा रहेका उनलाई एमालेले पार्टी प्रवेशपछि केन्द्रीय सदस्य र रोल्पा इन्चार्जसमेत बनाएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १ : ४४ बजे