Logo

राजनीति

विश्वविद्यालयको मामिलामा प्रधानमन्त्री झुटो : ओली



काठमाडौं । एमालेको अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति दलीय भागबन्डा नभइ योग्यताका आधारमा गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले झुटो बोलेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलीय भागबन्डा नगरी योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्ने बताए पनि अहिले आएर योग्यलाई पाखा लगाउँदै पार्टीका आसेपासेको सूची बनाइएको उनको आरोप छ ।

त्रिवि उपकुलपति छनोट हाल प्रक्रियामा छ । सिफारिस समितिले १४ जनाको सूची तयार गरेको छ, जसमध्ये ३ जनाको नाम नियुक्तिको सिफारिसमा पर्ने छ । उक्त सूचीप्रति ओलीले विमति जनाए । दलीय भागबन्डा नगर्ने भन्दै आफूले गरेको प्रतिबद्धताविपरीत प्रधानमन्त्री दाहालको योजना देखिएको उनले बताए ।

नयाँ दललाई कटाक्ष : भोलि उठी कहाँ जाने थाहा छ ?

सम्बोधनका क्रममा ओलीले नयाँ दलहरुलाई पनि कटाक्ष गर्न छाडेनन् । कुनै पनि दलको सैद्धान्तिक धार प्रष्ट हुनुपर्ने उनले औंल्याए ।

अर्का नारा दिएजसरी राजनीतिक दलको व्यवस्थापन सजिलो नभएको उनले बताए । दलहरुको सैद्धान्तिक धार प्रष्ट हुनुपर्नेमा उनको जोड थियो ।

सम्बोधनका अधिकांश समय सत्ता गठबन्धन, प्रधानमन्त्री र नयाँ दलको आलोचनामा खर्चिएका ओलीले आफ्नो दल एमाले भने सशक्त भएको बताएका थिए । जनस्तरमा प्रभाव बढाइरहेकाले विरोधीलाई जवाफ दिन सक्षम रहेको भनाइ राखेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ३२ बजे