Logo

मनोरञ्जन

‘उपहार’ सबैले ग्रहण गर्ने उपहार हो : रेखा थापा



काठमाडौं । यही फागुन २५ शिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को निर्माण टिम यतिबेला प्रोमोसनमा व्यस्त छ ।

फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले नेपाली फिल्म क्षेत्रका सबै कलाकारहरुको एकतामा बनेको फिल्म भएकाले उपहारलाई दर्शकहरुले औधी मन पराउने दाबी गरेकी छिन् ।

अभिनेत्री थापाले फिल्म ‘उपहार’ हरेक क्षेत्र, उमेर र वर्गका लागि उपहार बनेको बताइन् ।

फिल्मकी निमात्री समेत रहेकी नायिका थापाले फिल्म सुटिङको अनुभव सुनाउँदै सेटमा काम गर्दैगर्दा फिल्ममा आवद्ध अन्य कलाकारबाट अझ धेरै नै सिक्न पाएको बताइन् ।

अहिलेकी चर्चित नायिका पूजा शर्मासँगै बोलेकी थापाले आफूले फिल्मको काम गर्दैगर्दा निर्मात्री हुँ जस्तो अनुभव नभएको बताइन् ।

कुराकानीका क्रममा अधिकतम समय अभिनेत्री पुजा शर्माको प्रशंसा गरेकी थापाले शर्मालाई मार्केट बुझेको कलाकारका रुपमा परिभाषित गरिन् ।

वर्तमान नेपाली समयमा एकल महिलाले भोग्नुपरेको कथालाई स्पष्ट र सुन्दर तरिकाले देखाउनु नै फिल्मको सुन्दर पक्ष रहेको उनको भनाई थियो । थापाले अहिले पनि नेपाली चलचित्र उद्योगमा कलाकार तथा निर्देशकले एकअर्कालाई असहयोग गरेकै कारणले अगाडि बढ्न नसकेको बताइन् ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतको अभिनय छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता रेखाका श्रीमान बलराम शाही ठकुरी हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ११ : ३२ बजे