Logo

राजनीति

‘वर्ग दृष्टिकोण छाड्दा माओवादी कमजोर’



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा आइतबारको निष्कर्ष वर्गीय दृष्टिकोण छाड्दा पार्टी कमजोर हुन पुगेको आएको छ ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा प्रदेश इन्चार्जहरूसहित २१ जना सदस्यले रिपोर्टिङ गरेका छन् । सात वटा भूगोल प्रदेश, तीन विशेष प्रदेश, १० प्रदेश इन्चार्ज तथा अध्यक्षहरु र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन)का प्रमुखहरुले रिपोर्टिङ गरेको जानकारी उनले दिए ।

चार महिना सञ्चालन गरिएको ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’का क्रममा कसले के, कति र कसरी काम ग¥यो भन्ने विषयमा बैठकमा थाहा भइरहेको बताउँदै उनले मूल्यांकनका लागि आधार भेटिएको बताए ।

अभियानका क्रममा राम्रोसँग खट्ने नेता कार्यकर्तालाई मूल्यांकन गरि पुरस्कारको व्यवस्था गरिने प्रवक्ता सापकोटाले प्रष्ट पारे । समग्रमा ७५ प्रतिशत कार्यकर्ताले इमानदारिताका साथ काम गरेर जनतामा आशा जगाएको उल्लेख गर्दै उनले काममा नखट्नेलाई दण्डित गर्ने बताए ।

उनका अनुसार वर्ग र वर्ग दृष्टिकोण छोड्दा पार्टी कमजोर भएको आइतबारको बैठकको निष्कर्ष छ । उनले भने, ‘तल्लो वर्गमा सधैं क्रियाशील भएको कारणले पार्टी शक्तिशाली थियो । अहिले चाहिँ पार्टीले वर्ग छोडेको, अनि वर्ग दृष्टिकोण पनि कमजोर भएको छ । माओवादी पार्टीको वर्गउत्थान भएको पार्टी कार्यकर्ताको आरोप छ ।’

रुपान्तरणको विशेष अभियानमा सुनाउनुभन्दा जनताका कुरा सुनेकाले पार्टीलाई जीवन्त बनाउँदै लैजाने योजनामाथि छलफल गर्नुपर्ने उनको भनाइ छ ।

सोमबारसम्म चल्ने बैठकमा कार्यसम्पादन मूल्यांकनको आधारमा कार्य विभाजन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहालको तयारी छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ४७ बजे