Logo

खेलकुद

नेपाल–चीन मैत्रीपूर्ण फुटबल शनिबार दशरथ रंगशालामा



काठमाडौं । नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डले आगामी शनिबार नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गर्दै छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालको युथ (यु–२१) टिम र मित्रराष्ट्र चीनको क्युङहाई युथ टिमबीच मैत्रीपूर्ण फुटबल खेल गराइने एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।

एन्फाले काठमाडौको दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका तयारी पुरा गरिसकेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगितामा सहभागी हुने नेपाली युवा टिम पोखरामा प्रशिक्षण गरी काठमाडांै आइसकेको प्रवक्ता शाहले बताए ।

उनले भने, ‘मैत्रीपूर्ण खेल आयोजना गर्न एन्फाले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । प्रतियोगितामा सहभागी हुने नेपाली युवा टिम पोखरामा प्रशिक्षण गरी आज काठमाडांै आइसकेको छ । त्यस्तै सहभागी मित्रराष्ट्र चीनको क्युङहाई युथ टिम हिजो अपराह्न नेपाल आइसकेको छ । नेपाली राष्ट्रिय युवा टिमलाई इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले प्रशिक्षण गराउँदै आउनुभएको छ ।’

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनको म्याक्स च्यानलबाट गरिने जनाइएको छ ।

मैत्रीपूर्ण फुटबल खेल आयोजनाले नेपाली युवा खेलाडीहरुलाई थप उत्साहका साथ नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ६ : ०९ बजे