Logo

राजनीति

‘गठबन्धनले देशलाई मल्टी अर्गान फेलिएर जस्तो बनायो’ 



काठमाडौं । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकारले देशको अर्थतन्त्रदेखि सबै क्षेत्रलाई छियाछिया बनाएको आरोप लगाएका छन् । सरकारले अर्थतन्त्रको समस्या समाधान गर्नुपर्नेमा समस्या बुझ्ने सामथ्र्य समेत नभएको टिप्पणी उनले गरे ।

काठमाडौंमा सोमबार आयोजित प्रेस चौतारी नेपालको स्थापना दिवसको कार्यक्रममा स्वास्थ्य क्षेत्र, श्रम बजार, राष्ट्रिय अर्थतन्त्र, कृषि उत्पादनदेखि सुशासनसम्म कुनै क्षेत्रमा चित्त बुझाउनेसम्मको अवस्था नभएको र सबै क्षेत्र गम्भीर समस्यामा परेको बताएका उनले सरकारको संकिर्ण स्वार्थले संकट बढाएको बताए ।

पौडेलले सत्ताले प्रतिपक्षले उठाएको आवाजको सम्बोधन गर्नुपर्नेमा उल्टो आफूहरुलाई पूर्वाग्राही व्यवहार गरिरहेको आरोप लगाए ।

संसदमा अझ सशक्त रुपमा आफूहरु प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै उनले सदनबाट सरकारले प्रतिपक्षलाई नटेरे गठबन्धन सरकारले लाद्न खोजेका विषयलाई लिएर सडकबाट दबाब दिन पछि नपर्ने बताए ।

सरकारले अर्थतन्त्रको समस्या मात्रै होइन देशको आर्थिक मामिला नै बुझ्न नसकेको उनले जिकिर गरे ।

सरकारले राजस्वको लक्ष्य उठाउने विषय परको कुरा साधारण खर्च धान्न नसकेको, उत्पादन घटेको, निर्यात घटेको तथा सबैतिरको अवस्था नकारात्मक भएको दृष्टान्त सुनाएका उनले सरकारको अर्थतन्त्रको समस्या बुझ्ने समेत सामथ्र्य नभएको टिप्पणी गरे ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ५ : ५९ बजे