Logo

Breaking News 1

धरानका मेयर हर्क साम्पाङद्वारा मतदान ‘बहिस्कार’, गणना सुरु हुँदै



विराटनगर । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।

साम्पाङले ‘कार्यव्यस्तता’ कारण देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।

राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत कोशी प्रदेशको राजधानी विराटनगरमा मतदान सम्पन्न भएको छ ।

मतदान सकिएपछि करिब ४ बजेबाट मतगणना सुरु गरिने भएको छ । बिहान ९ बजे सुरु भएको मतदानमा ३ जना स्थानीय तहका प्रतिनिधिबाहेक सबैले मतदान गरेका छन् ।

मतदान नगर्नेहरुमा साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित भए । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह भ्रष्टाचारको मुद्दामा निलम्बित भएकाले उनले पनि मतदान गरेनन् ।

कोशी प्रदेशसभामा रहेका ९३ सांसदले मतदान गरेका छन् । सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले मतपरिणाम दुई घण्टामा आइसक्ने बताए ।

कोशी प्रदेशमा अन्यतर्फ एकजना र महिला एकजनाका लागि चारजना उम्मेद्वार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेद्वार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेद्वार छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : १७ बजे