Logo

खेलकुद

प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित, लुम्बिनी ६० रनले पराजित



भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित निकालेको छ । बुधबार भैरहवामा रहको सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णालीले दोस्रामे जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो । बाक्लो हुस्सु कारण खेल ५ ओभर घटाइएको थियो । १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनी प्रदेश १२४ रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि दिनेश अधिकारीले अर्धशतकीय ५६ रनको पारि खेल्दा दीपेन्द्र रावत ४७ रनमा पभेलियन फर्किएका थिए । यस्तै, हिमांशु शाहीले २५ रन बनाउँदा कप्तान रविन्द्र शाहीले ११ रुन बनाए । चार खेलाडीले खाता खोल्न समेत सकेनन् ।

लुम्बिनीका लागि निर्मला गुरुङ र अभिषेक गौतमले तीन–तीन विकेट लिँदा अजय चौहान, मोहमद हुसेन र कृष्ण कार्कीले एक–एक विकेट लिएका थिए । १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनी प्रदेशले ४१.२ ओभरमा सवै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका कृष्ण कार्कीले ४७ रन बनाउँदा मृनल गुरुङले २२ रन बनाए । यस्तै मोहमद हुसेन र निर्मल गुरुङले १०–१० रनको योगदान गरेका थिए ।

कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिँदा अनुज चनारा र दीपेन्द्र रावतले दुई दुई विकेट लिएका थिए । दिवान पुनले १ विकेट लिँदा २ खेलाडी रनआउट भए ।

जितसँगै कर्णालीले ३ खेलबाट ४ अंक बनाउँदै पाँचौं स्थानमा रहँदा समान खेलबाट २ अंकका साथ लुम्बिनी पुछारबाट तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : १५ बजे