काठमाडौं । रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले नेपालको खेलकुदमा भौतिक पूर्वाधारहरु सोचेअनुरुप अगाडी बढ्न नसकेको बताएका छन् ।
बुधबार ललितपुरको १४औं जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले समर्पण र निष्ठाका साथ आफ्नो जीवनलाई खेलकुदप्रति समर्पित गरेका खेलाडीहरुलाई उत्साहित र प्रोत्साहित गर्न नसकेको बताए ।
उनले भने,‘खेलकुदको क्षेत्रमा भौतिक पुर्वाधारहरुको काम जुन गतिमा अगाडि बढाउनुपथ्र्यो त्यो गतिमा अगाडि बढाउन सकेका छैनौं । नेपालको खेलकुद विकास र समर्पण, निष्ठाका साथ आफ्नो जीवनलाई खेलकुदप्रति समर्पित गरेका खेलाडीहरुलाई हामीले उत्साहित र प्रोत्साहित गर्न जरुरी छ । त्यसका लागि अझ सबैको आवश्यकता छ । ’
खड्काले संघीय, प्रदेश र स्थानीय तहको सरकार सबैले खेलकुद विकास र खेलाडीको उन्नती, प्रगतिको लागि ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए । मन्त्री खड्काले खेल क्षेत्रको विकासका लागि तीनै तहको समन्वयमा थप प्रगतिका प्रयास गर्ने विश्वास दिलाए ।
पुर्वाधारको कमी र आर्थिक उपलब्धताको कमीका कारण खेल क्षेत्रले फड्को मार्न नसकेको सबैले स्विकारेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाई थियो ।
उनले भने, ‘विगतमा भएका कमी कमजोरीहरुलाई सच्याउँदै आज र भोलिका दिनहरुमा हामीले खेलकुदका पुर्वाधारहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक रहेको छ । खेलाडीहरुमा जुन उत्साह छ, जुन समर्पण छ । खेलकुद पुर्वाधार नहुँदा, आर्थिक उपलब्धताको कमिका कारण जति प्रगति गर्न सक्ने क्षमता हो त्यो रुपमा अगाडि बढ्न सकिरहेको छैन । यो हामी सबैले स्विकार्न जरुरी छ । त्यसका लागि हामी सबै मिलेर अगाडि बढ्न प्रतिवद्धता गर्न जरुरी रहेको छ ।’
संघीय सरकारले क्रिकेट रंगशालाहरुलाई गौरवको आयोजनाका रुपमा अघि बढाएको बताउँदै उनले आउँदा दिनहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गर्ने सन्दर्भमा सरकार गम्भीर रहेको बताए ।
प्रतिक्रिया