Logo

Breaking News 1

‘फार्म टु प्लेट’ अवधारणा अघि बढाउन राष्ट्रपति पौडेलको आग्रह



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले होटल व्यवसायीहरुलाई ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् ।
काठमाडौंमा मंगलबार आयोजित होटल संघ नेपालको प्रथम सत्कार दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशी किसानले उत्पादन गर्ने अर्गानिक खाद्यवस्तुहरु सिधै तारे होटलहरुमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रमा उत्पादन भएको अन्नबाली तथा अर्गानिक खाद्यवस्तुहरु सिधै तारे होटलहरूमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन म आग्रह गर्दछु । यो वास्तवमा होटल व्यवसायीहरु स्वयम्ले पनि फार्ममा कस्तो उत्पादन चाहन्छन्, पाहुनालाई त्यस्तै खाना सप्लाइ गर्न सकिन्छ । किसानसँग सम्झौता गरेर पनि नेपालको प्रकृतिमा उपयुक्त हुने उत्पादन सिधै होटेलमा ल्याउन सकिन्छ ।’

उनले होटल क्षेत्रलाई अन्य मुलुक सरह प्राथमिकताप्राप्त उद्योगको सेवासुविधा प्रदान गरी निजी क्षेत्र र सरकार समन्वय गरेर अगाडि बढ्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । राष्ट्रपति पौडेलले होटल क्षेत्र देशकै अर्थतन्त्रको प्रमुख आधार रहेकाले मुलुकको होटल क्षेत्रले अतिथि देवो भवःको मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई वृद्धि गर्नु खुसीको विषय रहेको बताए ।

मुलुकमा पर्यटक आकर्षित गर्न होटलव्यासायीहरुले सत्कार दिवस आयोजना गरेका हुन् । दिवसको अवसर पारेर व्यवसायीले आफ्नो क्षेत्रका लागि दक्ष जनशक्ति बढाउने योजना अघि सार्दैछन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ५ : २२ बजे