Logo

खेलकुद

सूदूरपश्चिम प्रदेशको लगातार जित



भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ विकेट गुमाएर २७७ रन बनाएको थियो । सुदूरपश्चिम प्रदेशका ३ खेलाडीले उत्कृष्ट अर्धशतकीय पारि खेले । पहिलो विकेटका लागि खडक बोहोरा र टेक रावतले १३८ रनको साझेदारी गर्दै घरेलु प्रतियोगितामा कीर्तिमान पनि कायम गरेका छन् ।

बोहोरा ८० रन बनाएर आउट हुँदा रावतले ५९ रनको पारि खेले । यसैगरी किरण ठगुन्नाले ५० रन बनाउँदा नारायण जोशीले १२ बलमा ३१ रनको तुफानी पारि खेलेका थिए । यस्तै राजु रिजालले १९ रन बनाउँदा नारायण भट्टले १५ रन बनाए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, युनिश सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले एक–एक विकेट लिए । २७८ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली प्रदेश ३७.२ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा समेटिन पुग्यो ।

कर्णालीका लागि दिवान पुनले ३८ रन बनाउँदा अर्जुन घर्तीले २४ रन बनाए । यस्तै, दिनेश अधिकारीले २० तथा हिमांशु शाहीले १७ रन जोडेका थिए । कर्णालीलाई रोक्ने क्रममा सुदूरपश्चिम प्रदेशका शेर मल्लले ४ विकेट लिए । विकास अग्रीले २ विकेट लिँदा नारायण जोशी र भोजराज भाटले एक–एक विकेट हात पारे ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ५ : ०३ बजे