Logo

कोशी

सप्तकोशीमा डुबेका पत्रकारलाई क्षतिपूर्ति र उपचार खर्च दिन आलटाल



विराटनगर । गत कात्तिक १७ गते सप्तकोशी नदीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेका छन् । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोबाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाखको सामान क्षति भएको थियो ।

सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनको अवसरमा डेमो देखाउन भन्दै सशस्त्र प्रहरीले पत्रकार भेला गरेको थियो । त्यसक्रममा डेमो देखाउनुको साटो क्षमताभन्दा बढीलाई डुंगामा चढाएको कारण सप्तकोशीमा दुर्घटना भयो ।

दुर्घटनामा परी घाइते भएका विराटनगरस्थित रेडियो नेपालका पत्रकार कुमोद अधिकारीलाई ५ दिनसम्म धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । यस्तै कान्तिपुरका पत्रकार महाप्रसाद खतिवडालाई पनि केही दिन उपचार गर्नुपरेको थियो ।

पत्रकार अधिकारीले उपचार गरेको ६५ हजार रुपैयाँ आफैंले तिर्नु परेको बताए । पत्रकार खतिवडाले पनि उपचार खर्च आफैंले गरेको बताए । पत्रकारहरुलाई सशस्त्र प्रहरीले गाडीमा हालेर लगेको थियो ।

सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्षतिपूर्ति दिने गरी आफूहरुले सिफारिस गरेको बताए । हामीले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सिफारिस गरेर पठाएका थियौं । के भएछ बुझ्छु, उनले भने ।

त्यसबेला आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा मुख्यमन्त्री केदार कार्कीले नै लिएका थिए । प्रदेश सरकारका जनसम्पर्क अधिकृत समेत रहेका पत्रकार महासंघ प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले कार्यविधिमा १५ हजार मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेकोले त्यसलाई सच्याएर पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामान बुझाएअनुसार सोही सामानको मूल्य बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराइने बताए ।

पत्रकार खतिवडाले आफ्नो ३५ हजारको मोवाइल डुबेको बताए । यस्तै अधिकारीले पनि सोही मूल्य बराबरको मोवाइल, पर्स र नगद तथा उपचार खर्च गरी १ लाख १० हजारबढीको क्षति भएको बताए । पत्रकार जितेन्द्र ठाकुरले नगद ३० हजारसहित पर्स र मोवाइल डुबेको बताए ।

कान्तिपुर टेलिभिजनकै पत्रकार शम्भु पोखरेलको झण्डै ३ लाख रुपैयाँ पर्ने क्यामेरा तथा ट्राइपोट डुबेको थियो । पोखरेलले आफ्नो २ वटा मोबाइल पनि डुबेको बताए ।

हामीलाई सशस्त्रकै जवानहरुले जबर्जस्ती डुंगामा चढ्न भनेका हुन् । हामी नचढ्ने भनेर बसेका थियौं । अनि क्षमताभन्दा बढी चढेपछि दुर्घटना भयो, पत्रकार खतिवडाले भने, अहिलेसम्म सरकारी निकाय तथा पत्रकारसँग सम्बन्धी संघ संस्थाले खोजी नै गरेनन् ।

यता, पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले आफूहरुले क्षतिपूर्तिका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री कार्यालय र सशस्त्र प्रहरीलाई भनिरहेको बताए । हामीले तत्काल क्षतिपूर्ति दिन दबाब दिएका छौं, गौतमले भने ।

दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेको थियो । दुर्घटनामा कान्तिपुरकर्मी खतिवडा, साह र पोखरेल तथा पत्रकार कुमोद अधिकारी, जितेन्द्र ठाकुर, उदयपुरका स्थानीय सुशील सेँढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेँढाई, विशाल दाहाल र अम्बिका निरौला घाइते भएका थिए ।

पानीमा डुबेर बेहोस भएका अधिकारी र खतिवडाको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । सशस्त्र प्रहरी बलको बराह बाहिनी सुनसरीले दुई महिनाअघि सुरु गरेको गोताखोर तालिमको समापनको अवसरमा कृत्रिम अभ्यास गराउने तयारी थियो ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा नेपालमा चौथो पटक भएको सिसम—४ गोताखोर तालिममा दुई जना जनपथ र १८ सशस्त्र प्रहरी गरी जम्मा २० जना जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की थिए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ३८ बजे