Logo

कोशी

झापामा धानको कुन्युमा आगजनी, दुई बिगाहाको बाली नष्ट



झापा । झापाको कचनकवलमा अज्ञात समूहले खेतमा राखेको धानको कुन्युमा आगजनी गरेको छ । कचनकवल गाउँपालिका ४ बयरवारीका अलवास मियाँको कुन्युमा अज्ञात समूहले आगजनी गर्दा करिब तीन लाखको क्षति भएको छ ।

मियाँले दुई बिगाहा खेतमा लगाएको धान काटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए । दाइँ गर्नुअघि नै कुन्युमा आगजनी भएको हो । आगजनीबाट दुई बिगाहाको धान र पराल खरानी भएको पीडित मियाले जानकारी दिएका छन् । धान र पराल गरी कम्तीमा तीन लाख बराबरको क्षति भएको पीडित मियाँको भनाइ छ ।

धान र वर्षभरि गाई, गोरुलाई खान पुग्ने परालसमेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको मियाँले बताए । आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए ।

इलाका प्रहरी कार्यालय केचनाले आगो लागेको कारण र आगो लगाउने मानिसको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसभन्दा पहिले पनि सो स्थानमा बारम्बार धानको पराल र कुन्यूमा आगजनीका घटना भइरहे पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : २२ बजे