Logo

धर्म / संस्कृति

चतरामा आगामी चैतमा महाकुम्भ मेला आयोजना हुने



विराटनगर । आगामी चैतमा सुनसरीको बराहक्षेत्र, चतरामा महाकुम्भ मेला आयोजना हुने भएको छ ।

प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुने गरेको छ । यसैगरी हरेक ६ वर्षमा अर्ध कुम्भमेला आयोजना हुन्छ ।

नेपालका प्रथम जगतगुरु भनिएका वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ ।

यो वर्ष चैत २७ गतेदेखि २०८१ वैशाख २७ सम्म कुम्भमेला लाग्ने जनाइएको छ ।

यसैबीच, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले महाकुम्भ मेलाको तयारीबारे जानकारी लिएका छन् ।

कुम्भ मेलास्थल सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा पुगेर मन्त्री उप्रेतीले मेलाको तयारीबारे जानकारी लिएका हुन् ।

त्यस क्रममा बालसन्तले कुम्भ मेलाको तयारी धमाधम भइरहेको जानकारी गराएका थिए ।

मेलाका लागि भौतिक संरचना निर्माण, विद्युत, खानेपानी, सरसफाइको व्यवस्थापन, सुरक्षा प्रबन्ध, बसोबासस्थल जस्ता पक्षहरुमा तयारी भइरहेको जनाइएको छ ।

कुम्भ मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु सहभागी हुने गरेका छन् ।

केहीअघि मेलामा भक्तजनलाई आमन्त्रण गर्ने उद्देश्यले वालसन्तले १५ दिने पदयात्रा गरेका थिए ।

बालसन्तका अनुसार पदयात्राका क्रममा बराहक्षेत्रसँगै आसपासका धार्मिकस्थलको पहिचान गरी सम्भावनाको अध्ययन गर्ने र सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भनेर अध्ययन गरिएको थियो ।

ग्रन्थहरुमा उल्लेख भएअनुसार बराहक्षेत्र, चतरा धाम क्षेत्रको महत्व उच्च रहेको छ । यहाँ नियमित रुपमा पितृ श्राद्ध, मकर स्नानका साथै अन्य धार्मिक पर्वहरुको अवसरमा भक्तजनहरुको चहलपहल हुने गरेको छ ।

सोही स्थानमा रहेको हनुमान मन्दिर परिषरमा हनुमान जयन्तीलगायत पर्वहरुमा विभिन्न धार्मिक अनुष्ठान समेत हुने गरेको छ ।

उक्त स्थानमा भक्तजनहरुको आवासका लागि विभिन्न दाताहरुले भवन बनाएका छन् ।

चतरामा विभिन्न देवी देवताका मन्दिरका साथै वृद्धाहरुको हेरचाहका लागि वृद्धाश्रम समेत सञ्चालन गरिएको छ । त्यहाँ सञ्चालित वृद्धाश्रमको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा मिथिला पाण्डेले रेखदेख गर्दै आएकी छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : २७ बजे