Logo

समाचार

सामुदायिक वनमा हात्ती मृत अवस्थामा भेटियो



विराटनगर । मोरङको सुन्दरहरैँचाको एउटा सामुदायिक वनमा एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ ।

सुन्दरहरैँचा नगरपालिका–१० स्थित जनजागरण सामुदायिक वनमा करिब १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले भाले हात्ती गोली लागेर मृत्यु भएको अवस्थामा भेटिएको बताए पनि प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले घटनास्थल पुगेर यसबारे अनुसन्धान थालिएको बताए ।

अनुसन्धानका क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षका चिकित्सक र प्राविधिहरु पनि खटिने भएका छन् ।

गत सातादेखि तीन दर्जनभन्दा बढी संख्यामा हात्तीहरु मोरङको सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा आउजाउ गरिरहेको पाइएको थियो ।

जंगली हात्तीले स्थानीय बासिन्दाको घर भत्काउनुका साथै बाली खाइदिने र अरु सम्पत्ति नष्ट गर्ने गरिरहेका छन् ।

दुई सातायता मोरङ, झापा र सुनसरीमा गरी हात्तीको आक्रमणमा परी ७ जनाको ज्यान गइसकेको छ ।

कतिपय गाउँहरुमा हात्तीको उपद्रोबाट बच्न गाउँलेहरुले रात्रि गस्ती पनि गर्ने गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  २ : १० बजे