Logo

Breaking News 1

केन्द्रीय सदस्य पन्तले भनिन् ‘पटक पटक अवसर पाएकाले मात्रै होइन, नयाँलाई खोजौं’



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले आसन्न राष्ट्रिय सभाको चुनावमा उम्मेदवार चयन गर्नका लागि स्पष्ट मापदण्ड बनाउनु पर्नेमा जोड दिएकी छिन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा धारणा राख्दै पन्तले पार्टीले राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा पटक पटक अवसर पाएकालाई भन्दा पनि नयाँ र उर्जावानलाई स्थान दिन जरुरी रहेको बताइन् ।

यसैगरी अहिले जिल्ला–जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताहरुमा निराशा रहेको बताउँदै त्यसलाई चिर्नका लागि अब विशेष संकल्प गरेर गुटबन्दी अन्त्य गर्दै जनजीविकाका सवालमा केन्द्रीत हुनु पर्नेमा पनि जोड दिइन् ।

जाजरकोट भूकम्पको बारेमा धारणा राख्दै केन्द्रीय सदस्य पन्तले अहिले खास गरेर सुत्केरी महिला, बाल बालिका, वृद्धवृद्धाहरु जाडोको कारण अत्यन्तै गाह्रो साह्रो स्थितिमा रहेका र   कतिपयको ज्यान गइ सकेको अवस्थामा भूकम्प पीडितहरुको जीवन रक्षाका लागि सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिइन् ।

उनले अस्थायी टहरा बनाउन कांग्रेस पार्टी र तरुण दलले चलाएको  अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै अब अस्थायी टहरा बनाउने मात्रै हैन, घर पुनर्निर्माणका लागि पनि सरकारले स्पष्ट मापदण्ड बनाएर विशेष पहल गरेर छिटो भन्दा छिटो अनुदान रकम निकासा गर्न पनि माग गरिन् ।

यसैगरी शिक्षा, स्वास्थ्य क्षेत्र पनि अहिले अस्तव्यस्त बनेको अवस्थामा पदाधिकारी नियुक्ति लगाएतका कुरामा राजनीतिक हस्तक्षेप भन्दा पनि विज्ञ व्यक्तिहरुलाई पदाधिकारी बनाउने काममा अब नेपाली कांग्रेसले पहलकदमी लिनुपर्नेमा जोड दिइन् ।

साथै लामोसमयदेखि शान्ति प्रक्रियाका कामहरु थाँती रहेकाले त्यसलाई अघि बढाउनका लागि नेपाली कांग्रेसले पहल गर्नु पर्ने र संविधान संशोधन लगाएतका कुराहरुमा पनि स्पष्ट भएर अघि बढ्नु पर्नेमा जोड दिइन् । साथै आसन्न महासमितिको बैठकमा  केन्द्रीय कार्यसमितिमा दिएका सुझावहरु समेटिनेमा आफू आशावादी रहेको पनि उल्लेख गरिन् । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : १३ बजे