Logo

Breaking News 1

सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला फेरि ‘हेर्दाहेर्दै’मा



काठमाडौं । जिल्ला अदालत काठमाडौंमा सुनुवाइ भएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ ।

जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको मुद्दामा आइतबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको अदालतले जनाएको छ ।

आज यो मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको थियो ।

सोमबार न्यायाधीश ढकालकै इजालसमा पुनः सुनुवाइ हुनेछ । यसअघि पटक–पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएको उक्त मुद्दामा अहिलेसम्म ३३ पटक पेसी चढिसकेको छ ।

आज न्यायाधीश ढकालले ‘हेर्दाहेर्दै’ मा राखेकाले अर्को पेसीमा अन्तिम फैसला आउन सक्ने कानून व्यवसायीले आकलन गरेका छन् ।

२०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेको थियो । क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेर अमेरिका पुगेका थिए । इन्टरपोलमार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनले नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छाडिदिएको थियो । उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ०२ बजे