Logo

Breaking News 1

जहाज खरिद प्रक्रिया शतप्रतिशत त्रुटिरहित र पारदर्शी बनाउन प्रधानमन्त्री दाहालको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ जहाज खरिद प्रक्रिया शतप्रतिशत पारदर्शी ढंगले  अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त  ब्रिफिङका क्रममा उनले कुनै पनि त्रुटि र विवाद नहुने गरी जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

“नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठ्ने, कुनै त्रुटि नहोऊन्,” प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ ।

नेपाल वायुसेवा निगमले यो वर्ष आन्तरिक उडानको लागि मात्रै ३ वटा नयाँ जहाज खरिद गर्न लागेको छ ।

यस्तै धारामा पानी नआउने तर बिल भने जनताले तिर्नुपर्ने समस्या अन्त्य गर्न खानेपानी मन्त्रालयलाई पनि दाहालले निर्देशन दिएका छन् ।

पानी नआउने धाराको बिल तिर्दा उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरुन्त हल गर्न बैठकमा प्रधानमन्त्री दाहालले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

बैठकमा दाहालले मेलम्चीको पानी ल्याउन हाल दुई सिफ्टमा काम गरिरहेको जानकारी दिए । एक महिनाभित्र सुन्दरीजलमा मेलम्चीको पानी झार्ने दाबी गर्दै दाहालले मन्त्रालयलाई सोही अनुसार कामको नेतृत्व लिएर सहजीकरण गर्न समेत अग्रह गरेका छन् । 

दाहालले उपत्यकाको मात्र नभई पहाडी र हिमाली क्षेत्रहरुमा देखिएको खानेपानी समस्यालाई हल गर्न प्रस्ताव ल्याउन समेत मन्त्रालयलाई आग्रह गरे ।

बैठकमा खानेपानी मन्त्री महेन्द्र राय यादवले खानेपानी आयोजनाहरूमा संरचनागत सुधार जरूरी रहेको बताउँदै सार्वजनिक खरिद नियमावलीको सरलीकरण, कानुनी समस्याहरूको सम्बोधन गरी खानेपानी आयोजना निर्माणमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्नुपर्ने धारणा राखे ।

बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल,खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य ,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्लेलगायतले पनि आ–आफ्नो धारणा राखे ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : २६ बजे