विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखिदिन आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेलको अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र संघर्ष गर्ने बताए ।
उनले उद्योगी व्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृत्तिमा परिवर्तन ल्याएमात्रै उद्योगी व्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने पनि बताए ।
‘उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको छ’ उनले भने, ‘नेपाली जनताको आवश्यकता र अपरिहार्यता राष्ट्रपतिज्यूले बुझ्नुभएको छ । त्यसैले जनताको रगतले लेखिएको संविधानको सफल कार्यान्वयनमा चासो राखिदिनुहोस् ।’
कार्यक्रममा विराटनगरका उद्योगी, व्यवसायीलगायतले राष्ट्रपति पौडेलको अभिनन्दन गरेका थिए ।
कार्यक्रममा राष्ट्रपति पौडेलले २१ जना स्वतन्त्रता सेनानी, सबभन्दा बढी निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरेका थिए ।
प्रतिक्रिया