Logo

Breaking News 1

प्रधानमन्त्री कप महिला क्रिकेटः गण्डकीको पहिलो जित



काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा कर्णाली प्रदेशमाथि गण्डकीले ४४ रनको फराकिलो जित निकालेको हो । कर्णालीको भने लगातार दोस्रो हार हो ।

गण्डकीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

१४२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्रै बनाउन सकेपछि गण्डकी ४४ रनले विजयी भयो ।

पहिला ब्याटिङ गर्दा गण्डकीका लागि अञ्जली विश्व्कर्मा र ज्योत्स्निका मरासिनीले अर्धशतकीय पारि खेल्दा ठूलो स्कोर गरेको थियो ।

अञ्जलीले ४८ बलमा ८ चौकको मद्दतले ५१ रन बनाउँदा ज्योत्स्निकाले ४० बलमा ५ चौका र १ छक्कासहित ५० रनको अर्धशतकीय पारि खेलिन् ।

यसैगरी सुमन खतिवडाले २२ रन बनाउँद्या कप्तान कुसुम गोदार १ रनमा नटआउट रहिन् । गण्डकीका लागि सिमाना केसीले २ रन जोड्दा सिर्जना पौडेल र सृष्टि जैशीले खाता खोल्न सकेनन् ।

कर्णालीका लागि यमुना थारु र अञ्जु गुरुङले दुई दुई विकेट लिँदा रश्मि खड्काले १ विकेट हात पारिन् ।

१४२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको कर्णालीको ओपनिङ जोडीले राम्रो प्रदर्शन गरे पनि मध्यक्रमका खेलाडी असफल रहे ।

यमुना थारु र तृष्णा विश्वकर्माले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरे । २६ बलमा १९ रन बनाएर विश्वकर्मा रनआउट भएपछि कर्णाली दबाबमा आयो । यसैगरी कप्तान किरण कुँवर पनि ८ रनमा रनआउट भइन् ।

त्यसपछि लगातार विना थापा र अञ्जु गुरुङ खाता नै नखोली आउट भए । गौरी बोहोरले १६ बलमा २६ रनको पारि खेलेका थिइन् भने ओपनर यमुना थारुले ४८ बल फेस गर्दा २१ रन बनाइन् । रश्मि खड्का ७ रन जोडेर आउट भइन् ।

गण्डकीका लागि रचना चौधरीले २ विकेट लिँदा सुमन खतिवडा र ज्योत्स्निकाले एक एक विकेट लिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १ : ५४ बजे