Logo

Breaking News 1

वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा. पौडेल सर्वोच्चको आदेशसँगै पुर्नबहाली



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल सर्वोच्च अदालतको आदेशसँगै पुर्नबहाली भएका छन् । उनले आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने भएका छन् ।

मंगलबार न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सर्वोच्चको आदेशपछि आफू आजै अस्पताल पुगेर कार्यभार सम्हाल्ने डा. पौडेलले बताए ।

डा. पौडेल नेकपा (एमाले)का सदस्य र जनसंगठनका महासचिव पदमा क्रियाशील रहेको उजुरी परेको थियो । सोही उजुरीउपर राष्ट्रिय सतर्कता केन्द्रले उनको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकाले कानुनबमोजिम कारबाहीका लागि मन्त्रालयलाई सिफारिस गरेको थियो ।

मन्त्रालयले डा. पौडेललाई वीरको निर्देशकको पदीय जिम्मेवारीमा नरहने भन्दै अर्को निर्णय नहुन्जेलसम्म मंसिर १५ गतेदेखि मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको थियो ।

मन्त्रालयको सो निर्णयविरुद्ध उनी आफ्नो पूरा कार्यकाल पदमा रहन पाउनुपर्ने भन्दै सर्वोच्च पुगेका थिए । डा. पौडेल २०७९ फागुनमा दुई वर्षे कार्यकालका लागि वीरको निर्देशक नियुक्त भएका थिए ।

यस बीचमा वीरको निमित्त निर्देशकको जिम्मेवारी सहनिर्देशक डा. श्रवणकुमार थापाले सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ०९ बजे