Logo

Breaking News 1

वैदेशिक रोजगारीमा पठाउने नाममा हुने ठगीको धमाधम अनुसन्धान



काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने नाममा हुने गरेका ठगीका घटनामा प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यस्ता गतिविधिमा संलग्न १ हजार ५ सय १३ जनामाथि अनुसन्धान गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी गोबिन्द पन्तका अनुसार हालसम्म पक्राउ परेकाको संख्या ३२ छ भने तीमध्ये धरौटीमा ८ जना छुटेका छन् ।

असोज १९ गतेयता १ हजार ५ सय १३ जनामाथि अध्ययन गर्दा २ सय ४६ वटा सर्टिफिकेट, प्रहरी रिपोर्ट, नाता प्रमाणित जस्ता प्रमाणपत्रहरु नक्कली पाइएका छन् ।

नक्कली डकुमेन्ट बनाएर वैदेशिक रोजगारीमा पठाउने छवटा ट्राभल एजेन्सीका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्याक्सका देवराज खनाल, एचआर टुर्स एण्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एएन होलिडेजका सरोज यादव, स्काइ ट्राभल्सका दिनेश ज्ञवाली तथा गणेश पाण्डेलगायत छन् ।

नक्कली प्रमाणपत्रको आधारमा बाहिर जानका लागि अध्यागमन विभागले कडाई गर्ने हो भने कोही पनि बाहिर जान नसक्ने डिएसपी पन्तले बताए ।

भिजिट भिसाका लागि आधारभूत योग्यता प्लस टू को सर्टिफिकेट, दुई लाख न्यूनतम बैंक ब्यालेन्स र बैंक स्टेट्मेटन्ट हुनुपर्ने तथा उताबाट भिजिट भिसा तथा होटेल बुकिङ हुनुपर्नेमा कतिपय कागजात नक्कली बनाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

टिकट बुकिङको काम गर्दै आएकाहरुले १०–१५ हजार लिएर नक्कली डकुमेन्टको आधारमा पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

अध्यागमनका कर्मचारीको हकमा नयाँबाट प्रतिव्यक्ति ५५ हजार र एकचोटि गएर फर्किएको हकमा प्रतिव्यक्ति ४४ हजार रुपैयाँ लिएर पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

नेपाली महिलाहरुलाई भिजिट भिजामा लगेर बेचबिखन गर्ने तथा काम गर्दै जाँदा शोषणमा पर्ने गरेका छन् ।

प्रहरीले नेपाल एयरलाइन्सका दुईजना कर्मचारीलाई पनि पक्राउ गरेको जनाएको छ । छैंटौ तहका होम पोख्रेल र पाँचौ तहका अर्बेन्द्र यादवलाई नियन्त्रणमा लिएको उल्लेख गर्दै प्रहरीले अध्यमगनका अधिकृृत नलिब खड्कालाई मंगलवार पक्राउ गरिएको र अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : २० बजे