Logo

मुख्य समाचार

 ६१ हजार दर्शनार्थी पुगे पाथीभरा मन्दिर



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि ५ मंसिरसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् ।

वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दसैँतिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए । नवरात्रका समयमा देवीको पूजाआरधना गर्न उपयुक्त मानिने र चाडवाड, बिदालगायतका कारणले पनि उक्त समयमा धेरै दर्शनार्थी आएका उनको भनाइ थियो ।

दर्शनार्थीको गणनाका लागि अहिले गणना गर्ने प्रविधिसहितको सीसी क्यामेरा जडान गरिएकाले उक्त संख्यामा दर्शनार्थी आएका देखिएको निर्देशक हाङवाङले बताए । यस वर्ष दसैँतिहारमा मौसम सफा रहेकाले स्वदेशी तथा विदेशी तीर्थयात्रीको आगमन बढेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : १६ बजे