Logo

खेलकुद

विश्वकप फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त



काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुदैछन् । फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २:१५ बजेदेखि शुरु हुँदै छ । यस विश्वकपमा अपराजित रहदै भारत फाइनलमा पुगेको हो । भारत चौथो पटक एकदिवसीय विश्वकपको फाइनल खेल्दै छ । यसअघि १९८३ र २०११ को विश्वकपको उपाधि जितेको थियो भने २००३ मा विश्वकपको फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको थियो ।

त्यसैगरी अस्ट्रेलिया भने यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको हो । त्यस्तै अस्ट्रेलिया भने आठौँ पटक विश्वकपको फाइनल खेल्दै छ । अस्ट्रेलियाले आठ वर्षपछि विश्वकपको फाइनल खेल्ने भएको छ । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले सन् १९७५ र १९९६ को फाइनलमा हार बेहोरेको थियो । त्यस्तै अस्ट्रेलिया २०१९ को विश्वकपमा भने सेमिफाइनलमा ईङल्याण्डसँग पराजित भएर बाहिरिएको थियो ।

२००३ र २०२३ विश्वकपका संयोग सन् २००३ को विश्वकपमा अस्ट्रेलियाली टोली च्याम्पियन बन्दा सबै ११ खेल जितेको थियो । फाइनलमा भारतलाई हराउनुअघि अस्ट्रेलियाले समूह चरणमा पनि भारतलाई हराएको थियो। त्यसपछि भारतीय टोलीले कुल आठ खेल जितेको थियो । अब २०२३ को विश्वकपको कुरा गर्ने हो भने भारतीय टोली लगातार १० खेल जितेर फाइनलमा पुगेको छ र उसको नजर अब ११औं जित हासिल गर्दै उपाधि जित्नेमा छ । भारतले समूह चरणमा अस्ट्रेलियालाई हराएको थियो र अब फाइनलमा पनि पराजित गर्ने अवसर छ । अष्ट्रेलियाको टोली यस प्रतियोगितामा कुल आठ खेल जितेर फाइनलमा पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : १२ बजे