Logo

मुख्य समाचार

राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन् । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्र्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था नभएको पनि जनाएका छन् ।

‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा नेपाल हो, संख्याको कमिले संविधानसभाबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न नसके तापनी जनताको अभिमतबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ’ थापाले भनेका छन, ‘यही अधिकारको कारण राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन्।’ 

अहिले विभिन्न दल, व्यक्ति र समुह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुसी र गौरवको अनुभूति भएको पनि थापाले जनाएका छन् । ‘राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समुहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने छ,’ उनले भनेका छन, विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटी भएका छन्। विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ।’ 

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा निहित स्वार्थ पुर्ति गर्ने माध्यम बनाउन नहुने थापाको भनाई छ ।

‘यो अभियानलाई कसैसँगको प्रतिशोध साध्ने, कुनै माग वा स्वार्थ पुरा नभएको झोक पोख्ने वा छुद्र अभिव्यक्ति दिने साधन बनाउनु हुँदैन, राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको अभियान कुनै दल व बिचारको विरुद्ध केन्द्रित हुनु हुँदैन,’ उनले भनेका छन, ‘प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था होईन । सबै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुनेछ।’ उनको तर्क छ, ‘राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउनु पर्दछ।’

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  २ : २३ बजे