Logo

Breaking News 1

अब ठूला महल बनाउन दिनु हुँदैन : उपसभामुख राना



काठमाडौँ। उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खाली जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताएकी हुन् ।

उनले शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई/तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपालालाई खानका लागि खाद्यान्न अपुग हुने बताइन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौँका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति दुःख व्यक्त गरिन् । यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ ।

यस वर्ष  पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ ।  संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ ।

दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्याउनमा प्रगति भने सुस्त गतिमा छ ।

राष्ट्र सङ्घकाअनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : १४ बजे