Logo

Breaking News 1

महोत्तरी प्रहरीको गोली प्रहारबाट दुई जना घाइते


२९ कार्तिक २०८०, बुधबार  

69
Shares

जनकपुरधाम। महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।

दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो ।

उनका अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो । त्यसपछि सर्लाही प्रहरीको गाडी मगाइयो । महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको डिएसपी गिरीले बताए ।

त्यतिबेला रातिको १० बजेको थियो । उनीहरुमाथि तीन राउण्ड गोली प्रहार गरेर पुनः पक्राउ गरिएको डिएसपी गिरीले बताए । दुबैजनाको वायाँ तिघ्रामा गोली लागेको छ ।

डिएसपी गिरीका अनुसार यही कात्तिक २० गते बिहान २ः३० बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुसहित ७/८ जनाको समूहमा आएका डाँकाहरुले महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर लुटपाट गरेका थिए । त्यसक्रममा घरपरिवारका सदस्यहरुलाई कुटपिट गरी ४० तोला सुुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन एक थान र नगद १ लाख ७५ हजार डकैती भएको प्रहरीको भनाइ छ ।

सोही घटनाको अनुसन्धान गर्दै जाँदा डाँका गर्ने मध्येका शक्ति पासवान र अजय पासवानलाई पक्राउ गरेको डिएसपी गिरीको भनाइ छ । पक्राउ गर्ने बेला शक्तिको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ राउण्ड गोली समेत बरामद भएको डिएसपी गिरीले बताए ।

दुबैजनामाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ९ : १३ बजे