Logo

Breaking News 1

संसदको अधिवेशन अन्त्य गर्ने तयारी, रोकियो टीआरसी विधेयक


१५ कार्तिक २०८०, बुधबार  

92
Shares

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालू अधिवेशनमा पास नहुने भएको छ ।

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्ने भन्दै सररकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर दुबै विधेयक पास नगरी बिहीबार संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने तयारी छ । बिहीबारको बैठकमा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने बारेमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल नै भएको छ ।

सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट पारित भएर प्रतिनिधिसभा पेश भएको छ ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ । संसदीय उपसमितिले अधिकांश विषयमा सहमति जुटाएर विधेयकको प्रतिवेदन तयार पारेको भएपनि शीर्ष सहमति जुट्न बाँकी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान मात्र विपक्षी दलका नेता केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई विधेयक अगाडि बढाउने विषयमा छलफल गरेका थिए ।

शीर्ष तहमा भएको छलफलले पनि तत्काल विधेयक अगाडि बढाउने संकेत नगरेको माओवादीमा मुख्य सचेतक पाण्डे बताउँछन् । ‘शीर्ष तहमा के भयो भन्ने मेरो जानकारीमा छैन’, पाण्डेले भने, ‘तर अधिवेशन अन्त्य हुने भएपछि अगाडि नबढाउनेमा कुरा मिलेकै भन्ने हो कि !’

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ०८ बजे