Logo

Breaking News 1

चाडपर्वका बेला जनतालाई सास्ती नदिन सरकार चनाखो भएर नियन्त्रण गर्न सांसदहरुले गराए सरकारको ध्यानाकर्षण



काठमाडौँ। सांसदहरुले दशैँ लगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले दुर्गम क्षेत्रमा नागरिकलाई सहज र सुलभ मूल्यमा चामललगायतका खाद्यवस्तुको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे ।

बैठकमा बोल्दै सांसद विना लामाले चाडबाडमा मात्रै चामल खाने दुर्गम क्षेत्रका नागरिकका लागि सरकारले सस्तोमा गुणस्तरीय खाद्य वस्तुहरु उपलब्ध गराउनुपर्ने बताइन् । उनले न्युन आयस्रोत भएका जनताले उपभोग गर्न नसक्ने गरी मूल्य वृद्धि बढेकाले त्यस्ता व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिए ।

सांसद विनिताकुमारी सिंहले चाडपर्वका बेला कालोबजारी गर्ने जस्ता अपराधिक गतिविधि हुने गरेको भन्दै त्यसलाई समयमै रोक्न सरकारसँग माग गरिन् । उनले विषाधि चेकजाँच गरेर मात्रै खाद्य वस्तुहरुलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरिन् ।

सांसद विजुला रायमाझीले चाडबाडका बेला सवारी दुर्घटना अधिक हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले गुणस्तरहिन खाद्य वस्तुको बिक्रीवितरण हुन नदिनका लागि पनि सरकारलाई सचेत गराइन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  २ : ५६ बजे