Logo

मुख्य समाचार

इजरायलमाथि हमासद्वारा भिषण आक्रामण, नेतान्याहुले भने, ‘देशमा युद्ध सुरु भएको घोषणा गर्दछु’



गाँजा । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बीचको स्थिति फेरि बिग्रिएको छ । हमास आतंककारीहरूले शनिबार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन। सर्वप्रथम इजरायलमा हजारौं रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् ।

केही आतंककारी प्याराग्लाइडर प्रयोग गरेर सीमामा प्रवेश गरेका थिए । केही आतंककारीहरू सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । अचानक भएको यो ठूलो हमला पछि इजरायलमा रेड अलर्ट जारी गरिएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालै आपतकालीन बैठक बोलाएर देशमा युद्धको घोषणा गरेका छन् । अहिलेसम्म हताहतीकाे खबर अाएकाे छैन । भीडन्त अहिले पनि जारी छ । 

मिडिया रिपोर्टका अनुसार प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरायलमा ५ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाईएको छ, यसको विस्तृत बिवरण आउन बाँकी छ ।  प्यालेस्टिनी आतंककारीहरूले गाजा पट्टी हुँदै इजरायलमा आक्रमण गरे र यसको सीमामा प्रवेश गरेका छन् । 

सीएनएनका अनुसार रकेट आक्रमणको लगत्तै प्रधानमन्त्री नेतन्याहुको कार्यालयले प्रधानमन्त्री र रक्षामन्त्रीले तेल अवीवमा उच्चस्तरीय बैठक गरिरहेको बताएको छ । देशका सबै नागरिकलाई सचेत गराइएको छ । सबैलाई घरभित्रै बस्न भनिएको छ ।

हमास लडाकुहरूले इजरायली घरहरू कब्जा गरेका छन्। यसैबीच इजरायली प्रधानमन्त्री नेतन्याहुले हामी युद्धमा रहेको बताएका छन् । उनले भने, ‘यसका लागि हमासले ठूलो मूल्य चुकाउनु पर्नेछ।’ हमासको आक्रमणपछि सञ्चारमाध्यममा देखा परेका इजरायलका रक्षामन्त्रीले भिडियो सार्वजनिक गरेका छन् ।

उनले भने,  ‘हामासका आतंककारीहरूले आज बिहानै गम्भीर गल्ती गरेका छन् र इजरायलविरुद्ध युद्ध सुरु गरेका छन् । इजरायली सुरक्षा निकायका सिपाहीहरू जताततै दुश्मनसँग लडिरहेका छन्। म इजरायलका सबै नागरिकहरूलाई सुरक्षा निर्देशनहरू पालना गर्न आह्वान गर्दछु। इजरायलले यो युद्ध जित्नेछ। 

इजरायलमा हमासले गरेको आक्रमणपछि इजरायलको सेना एक्शन मोडमा छ । इजरायली सेनाले आफ्नो आधिकारिक एक्स खातामा हमासको आक्रमणको जवाफमा गाजा पट्टीमा रहेको आफ्नो स्थानमा आक्रमण गर्न थालेको बताएको छ।

हमासका प्रवक्ता मोहम्मद डेफले इजरायलमा भएको आक्रमणको जिम्मेवारी लिँदै विश्वको जुनसुकै कुनामा रहेका प्यालेस्टाइनी नागरिकले इजरायलविरुद्ध उभिनु पर्ने बताएका छन् । उनले भने,  ‘यरुशलेमको अल अक्सा मस्जिदमा उनीहरुले गरेको आक्रमणको जवाफमा हामीले यो हमला गरेका हौँ ।’

हमासका प्रवक्ता मोहम्मद दीफले लेबनान, सिरिया, इराक र इरानलाई इस्लामको नाममा एकजुट हुन अपिल गरेका छन् । उनले आफ्नो एउटा ट्वीटमा भनेका छन्,  ‘हामी इजरायलविरुद्ध अल अक्सा स्टर्म अपरेशन सुरु भएको घोषणा गर्छौं। आज अल अक्साको क्रोध, हाम्रो देशको क्रोध र इस्लाममा विश्वास गर्नेहरूको क्रोध उम्लिरहेको छ।’

उनले अगाडी भनेका छन, ‘हातमा बन्दुक लिएर जो कोही घरबाट बाहिर निस्कनुपर्छ । आज इतिहासले यसको सबैभन्दा शानदार र ऐतिहासिक पृष्ठहरू खोलेको छ। म सबै इस्लामका अनुयायीहरूलाई हामीलाई मद्दत गर्न अपील गर्दछु, र सिरिया, लेबनान, इराक र इरानका सबै मानिसहरूलाई झण्डा र सीमानामा एकताबद्ध हुन अपील गर्दछु।’

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ३ : ४० बजे