Logo

Breaking News 1

आफू काटिएर अरु कांग्रेसीलाई काटिनबाट जोगाए : सहमहामन्त्री यादव



काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफू काटिएर कांग्रेसका नेतालाई जोगाएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री यादवले भने, ‘मेरो हत्या प्रयास गर्ने व्यक्ति (श्यामबहादुर सापकोटा) का बारेमा बुझ्न पूर्व इन्सपेक्टरलाई जेलमा पठाएको थिएँ ।

त्यो मान्छेले महेन्द्र यादव भन्ने मान्छेलाई मैले चिनेको पनि थिएन । तर कांग्रेसका नेतालाई काट्न पाँच दिनदेखि झोलामा खुकुरी बोकेर हिडेको थिए । जुनसुकै कांग्रेसी परेपनि म काट्थे भनेर त्यो मान्छेले भन्यो ।’

सहमहामन्त्री यादवले खुकुरी प्रहारले निकै पीडा दिएपनि आफ्नै पार्टीका अरु नेताहरु काटिनबाट जोगिँदा खुसी लागेको बताए । ‘म सात दिन अस्पतालमा बस्दा दुःख त लाग्यो । चोटले पीडा भयो । तर खुसी यस अर्थमा लाग्यो कि अरु कांग्रेसी काटिनबाट मैले जोगाएँ । म आफू काटिएर अरु साथीहरुलाई जोगाए,’ सहमहामन्त्री यादवले भने ।

भदौ २० गते भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको थियो । नुवाकोटका सापकोटाले भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लवको एक कार्यक्रममा सहभागी भएका यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट यादवको टाउको र गर्धनमा गम्भीर चोट लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भएको थियो भने आक्रमण गर्ने सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।

उनले कांग्रेस नेतामाथि भइरहेको सुनियोजित आक्रमणका बारेमा गम्भीर हुने बेला आएको बताए । ‘किन कांग्रेसीमाथि नै आक्रमण गरियो, यसका बारेमा गहन अनुसन्धान हुन जरुरी छ । यसका बारेमा सभापतिलाई आग्रह गर्दछु । आज देशमा जति विकास भएको छ, त्यो कांग्रेसकै कारण भएको हो । तर पनि किन कांग्रेसमाथि नै आक्रमण’ उनले भने ।

देशमा प्रतिगामी शक्तिहरुको पहिलो टार्गेट नै कांग्रेस बनेको भन्दै गम्भीर हुन जरुरी रहेको बताए । यादवले गृहमन्त्रीले सत्तासाझेदार दल कांग्रेसका नेताहरुमाथि पक्षपातीपूर्ण व्यवहार गरिरहेको बताए ।

‘रामबहादुर थापा बादलले सुरु गरेको भुटानी शरणार्थी प्रकरणमा उहाँका बाबुछोरा बाहिर छन्, तर हाम्रा नेता बालकृष्ण खाण जेलमा हुनुहुन्छ । कांग्रेस सरकारमा रहेको दल हो । कांग्रेसले प्रधानमन्त्रीसँग प्रष्ट रुपमा कुरा गर्नुपर्छ, गृहमन्त्रीको व्यवहार कांग्रेससँग पक्षपाती देखिन्छ, उनले भने ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठका पक्षपातीपूर्ण व्यवहारमाथि रोक लगाउनुपर्ने यादवले बताए । उनले भने, ‘गृहमन्त्रीको भूमिका सही छैन । हामी सत्तारुढ दल पनि हौं । गृहमन्त्रीमाथि रोक लगाउनुपर्छ । म सभापतिज्यूलाई आग्रह गर्दछु ।’ उनले कांग्रेस नेतामाथि भइरहेको सुनियोजित आक्रमणका बारेमा गम्भीर हुने बेला आएको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ११ : ५२ बजे