काठमाडौं । सुन तस्करीबारे अध्ययन गरी प्रतिवेदन बुझाउने उच्चस्तरीय जाँचबुझ आयोग गठनमा दोस्रो तहका नेताहरूबीच कुरा मिल्न नसकेपछि प्रमुख दलका शिर्ष नेताहरुका बिचमा छलफलको तयारी शुरु भएको छ ।
आइतबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दलहरूको बैठक बसेर तयार गरेको आयोगको कार्यादेशमा एमाले सहमत नभएपछि शिर्ष नेताहरु बसेर आयोग गठनको निर्णय हुने एक नेताले बताएका छन् ।
एमाले बाहेकका दलहरूले सिआइबीको कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने गरी अनुसन्धान र अध्ययन अघि बढाउने गरी आइतबार बिहान कार्यादेश तयार पारेका थिए ।
तर कार्यादेशमा चित्त नबुझेपछि एमाले उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । ओलीले समेत कार्यादेशमा चित्त नबुझाएपछि शीर्ष तहमै बैठक बसेर निर्णय हुने भएको हो ।
साउन २ गते त्रिभुवन विमानस्थलबाहिर समातिएको ६० किलो बढी र इलेक्ट्रिक चुरोटमा लुकाएर तस्करी भएको सुनमा सरकारकै संलग्नता देखिएको भन्दै एमालेले उच्चस्तरीय जाँचबुझ समितिको माग गरेको थियो ।
प्रतिक्रिया