Logo

Breaking News 1

नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन भण्डारीको चेतावनी



काठमाडौँ। नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा उनले शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका हुन् । उनले यो कुरा सत्य हो भने त्यसलाई सच्याउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

भण्डारीले भने, ‘नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने जुन कुरा आएको छ । त्यसबारे सरकारबाट स्पष्ट जानकारी चाहियो । यदि सत्य हो भने सरकारले त्यस्तो कार्य तुरुन्त बन्द गरोस् ।’

यस्तै उनले सदियौँदेखि रहेको वैदिक सनातन धर्मविरुद्धमा सनातनीहरूलाई जिस्क्याउने र अपमान गर्ने काम भइरहेको भन्दै आपत्ति जनाए । ‘सरकार के हेरेर बसेको छ ? यसबारे पार्टीको दृष्टिकोण के हो ?,’ उनको प्रश्न छ ।

मुलुक इतिहासमै सबैभन्दा संकटमा पुगेको भण्डारीको भनाइ छ । उनले भने, ‘यसको कालो दाग कांग्रेस पार्टीलाई नलागोस् । किनभने मुलुकको यस्तो अवस्था आउनुमा कांग्रेस सबैभन्दा बढी जिम्मेवार छ ।’

पार्टी स्थापना कांग्रेसको आफ्नो विचार र नीतिले भए पनि ‘कथित’ राजनीतिक व्यवस्थापनका नाममा १२ बुँदे सहमतिसँगै पार्टीले आफ्नो मूल विचार छोडेको भण्डारीको भनाइ छ । उनले भने, ‘त्यसै बेलादेखि कांग्रेस र मुलुक दुवै संटकमा परेका हुन् ।’

नेता भण्डारीले पार्टी महासमिति बैठकमा पनि हिन्दु राष्ट्रका विषयमा छलफल हुनुपर्नेमा जोड दिए । उनले परापूर्वदेखि विभिन्न जातजाति र धार्मिक समुदाय मिलेर बसेको देशमा पहिचानको मुद्दा अघि सारेर त्यसलाई बिथोल्न खोजिएको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १ : १० बजे