Logo

Breaking News 1

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने



काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो ।

त्यसका लागि काठमाडौँ महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने बताए ।

महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछ । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो ।

यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने सम्मको चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  २ : १६ बजे