Logo

Breaking News 1

स्वार्थप्रेरित समुहसँग सजग रहन प्रधानसेनापति शर्माको निर्देशन



काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनाको संख्याका बारेमा अनावश्यक बहश चलाएर स्वार्थप्रेरित समुहले खेल्न खोजेको भन्दै सजग रहन निर्देशन दिएका छन् ।

आफ्नो कार्यकालको दुई वर्ष पुरा भएको अवसरमा सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा शर्माले यस्तो निर्देशन दिएका हुन् । अमेरिकी सेनासँगको संयुक्त सैन्य अभ्यास शुरु भएका बेला भइरहेको अनावश्यक बहश र सेनाको संख्या कटौती गर्नुपर्ने विषयमा संसदमै समेत विषय उठेका बेला प्रधानसेनापति शर्माले स्थिर माहोल खलबल्याउने समुह सक्रिय रहेको संकेत गरेका हुन् ।

प्रधानसेनापति शर्माले बोलेको विषयबारे सैनिक मुख्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी असामयीक तर्क उठाई स्थिर माहोललाई खल्बल्याउने कुनैपनि स्वार्थ प्रेरित समूह तथा क्षणिक वा दुरगामी असर पार्नसक्ने योजनाबद्ध प्रायोजित अभिलाषाप्रति सदैव सजग र सतर्क रहँदै नेपाल र नेपाली जनताको वृहत्तर हितमा समर्पित रहन सकलदर्जालाई निर्देशन दिनुभयो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर स्वर्णिम वाग्लेले सेनाको संख्या घटाउनुपर्ने विषयमा बहश शुरु गरेका थिए । संसदमा उनले बोलेको विषयमा सभापति रवि लामिछानेले नै स्पष्टिकरण दिनुपर्ने अबस्था बनेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १० : ५३ बजे