Logo

Breaking News 1

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचार : राष्ट्रपति पौडेल


२२ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन् ।
जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतलनीवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गरे । उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे ।

कार्यक्रममा ट्रस्टका सदस्य एवम् सांसद डा. शशांक कोइरालाले धन्यवाद ज्ञापन गर्दै बीपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले बीपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए।

कार्यक्रममा बीपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र बिमल पुरस्कृत भएका थिए । सो पुरस्कारको राशि एक लाख एकहजार रुपैया र सम्मानपत्र रहेको छ । त्यस्तै बीपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत भए । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ ।

सम्मानित व्यक्तित्व बिमलले बीपी सदैव स्वतन्त्रता र समानताका पक्षधर हुनुहुन्थ्यो भन्दै लोकतान्त्रिक समाजवादनै बीपीको राजनीतिको चेतनाको प्राण भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : २८ बजे