Logo

मुख्य समाचार

युरोपियन युनियन र अमेरिकनहरूले संक्रमणकालिन न्याय टुंग्याउन दिएनन् : लिलामणी पोखरेल



महोत्तरी । नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलले जनयुद्ध कालका संक्रमणकालिन न्याय व्यवस्था सम्बन्धि ऐन बनाउन नदिन चलखेल भइरहेको बताएका छन् ।

विशेषगरी युरोपियन युनियनहरुले ऐन बनाउन नदिएको सचिव पोखरेलले खुलासा गरेका छन । युरोपियन युनियनसगैँ अमेरिकी र प्रतिक्रियावादीहरु समेत यसमा लागिपरेको बताउदै माओवादीहरुलाई धम्क्याउन र तर्साउन सकिन्छ भन्ने सोचेर ऐन वनाउन उनीहरु वाधक बनेको उनकाे तर्क छ ।

रुपान्तरण अभियानमा मधेश प्रदेशको इन्चार्ज समेत रहेका सचिव पोखरेलले देशमा ठूलो संकट समेत सिर्जना भइरहेको जनाएकाे छ । भुमण्डलिय राजनितिको माध्यमवाट नेपाललाइ प्रयोग गर्ने उदेश्यले अमेरिकीहरुले नेपालमा नयाँ सम्झौता समेत गरेको बताउदै सचिव पोखरेलले भने ‘एमसीसी सम्झौता अमेरिकाको यसैको परिणाम हो, त्यसैले मुलुकको राष्ट्रियता, अखण्डता माथी समस्या पैदा हुँदै छ ।’

माओवादी जनयुद्ध लगायत अन्य राजनतिक दलहरुसगँ सम्झौता गरि बनेको ठूलो राजनीतिक परिवर्तन समेत खतरामा परेको सचिव पोखरेलको भनाइ छ । ‘संघिय लोकतान्त्रिक गणतन्त्र समेत खतरामा परेको छ किनभने यसअघि संविधानमा नै उल्लेख नभएको जननिर्वाचित प्रतिनिधि व्यवस्थालाई बिघटन गरियो ।’

लाेकतान्त्रिक गणतन्त्र माथी प्रतिगमनकारीहरुले टाउको उठाउन सुरु गरेको बताउदै उनले एकात्मवादीहरुले हमला गर्न सुरु गरिसकेको दावी गरेका छन् । तीन  महिने रुपान्तरण अभियानमा माओवादी रुपान्तरित भएर आउने र जनतासँगको सम्बन्ध पुन: समधुर हुने पनि नेता पोखरेलले विस्वास ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : ०१ बजे