Logo

Breaking News 1

एमसीसीको औपचारिक कार्यान्वयनले रोकियो समाजवादी मोर्चाको धनगढी सभा



काठमाडौं । समाजवादी मोर्चाको धनगढीमा आज हुने भनिएको सन्देश सभा स्थगित भएको छ । अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को औपचारिक कार्यान्वयन हुने दिनमा आयोजना गरिएको सो सभा अन्तिम समयमा स्थगित गरिएको हो ।

एमसीसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभावाट भिन्न भिन्न बिचार आए पछि आजको सभा स्थगित गरिएको बुझिन आएको छ । सन्देश सभामा एमसीसी परियोजनाका बारेमा केही न केही नेताले बोल्ने र सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ‘साक्षी’ हुने भएपछि कुटनीतिक असर पर्ने भन्दै सभा स्थगित गरिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए ।

साथै, बिप्लव नेतृत्वकाे नेकपासहित चार दलले आजै काठमाडाैंमा  एमसीसी कार्यान्वयनकाे  बिराेधमा माइतीघरमा  बिराेध प्रदर्शनसमेत गर्दैछ । जसका कारण पनि साे सभा स्थगित गर्नु परेकाे जनाइएकाे छ ।

सुदूरपश्चिम प्रदेशमा हुने सो सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने तय भएको थियो ।

सो मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने पुर्व घोषणा अनुरुप आज सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिएको थियो । स्थगित सन्देश सभा अब कहिले हुन्छ ? त्यसको भने कुनै जानकारी दिइएको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : ०९ बजे