Logo

खेलकुद

सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सम्पन्न



भक्तपुर । एभरेष्ट इगलिश स्कूल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको ‘सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता २०८०’ मंगलबार भक्तपुरमा सम्पन्न भएको छ ।

प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज र गल्र्स गरी तीन क्यातागोरीमा भएको थियो । प्रतियोगिताको सिनियर व्याइजतर्फ ज्ञान निकेतन स्कुल शंखमुल काठमाडौ पहिलो भएकाे छ भने जुनियर व्याइजतर्फ पनि ज्ञान निकेतन स्कुल नै पहिलो भए । साथै गल्र्सतर्फ भने निष्ट स्कुल भक्तपुर प्रथम भएकाे छ ।

 

प्रतियोगिताका उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहवीच मंगलबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा उनले खेलकुद मौलिक हक अधिकारभित्र नरहेकोले खेलकुद क्षेत्रको विकास हुन नसकेको बताउँदै शिक्षा र स्वास्थ्यजस्ता विषय जनताका आधारभूत बिषय भएको बताए ।

उनले खेलाडीले पढ्दैनन् र पढ्नेले खेल्दैनन् भन्ने मान्यतामा धेरै भिन्नता आएको बताउँदै विद्यालय जीवन देखि शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउनु सुखद पक्ष भएको बताए । भक्तपुर नपाले खेल क्षेत्रको विकासको लागि प्रशिक्षण, व्यायामशाला स्थापना, खेलाडी सम्मान तथा विभिन्न खेलकुद प्रतियोगिताहरु आदि आयोजना गरी यहाँका खेलाडीहरुलाई उत्साहित गर्दै आइरहेकोसमेत जनाए ।

आयोजक एभरेष्ट इंगलिस स्कूलका प्रअ भक्त राजभण्डारीले विद्यालयको आयोजनामा भएको प्रतियोगितामा ६३६  जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताए । उनले खेलकुद प्रतियोगिताको मुख्य उद्देश्य मित्रता र प्रतिस्पर्धा हो भन्ने मान्यताका साथ स्कुलले कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले सहभागी सम्पूर्ण विद्यालय र विद्यार्थीहरुमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई सक्रिय जीवन जिउन प्रेरित गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताका रेफ्री तथा विजेताहरुलाई प्रशंसापत्र, मेडल तथा शिल्ड प्रदान गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ४२ बजे